धनगढी, २४ असोज / महाकाली नदीमा चुँडिएको नेपाल टेलिकमको तार पुनः वारपार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा देवीस्थान गुल्ममा कार्यरत सागरराज थारु रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने काम भइरहेको थियो। सोही क्रममा थारुको खुट्टामा तार अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।
केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। तार विच्छेद भएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले नदीमा बगाएको तारलाई रबर बोटको सहायताले वारपार तान्ने प्रयास भइरहेको थियो। यही क्रममा दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनापछि बेपत्ता असई थारुको खोजी भइरहेको छ। उनको अवस्थाबारे थप विवरण आउन बाँकी छ।