बाजुरा, २४ असोज / बाजुरामा भुकम्पले चर्किएका घरमा बास बसेका स्थानीयको मनमा फेरि त्रास बढ्न थालेको छ ।
२०७९÷८० सालमा गएको भुकम्पले यहाँका दर्जनौ घर भत्किनुका साथै सयौँ भन्दाबढी चिरा चिरा परेका थिए । आर्थिक अवस्था कम्जोर भएका कारण उनीहरुले मर्मत गर्न नसक्दा अहिले यहाँका स्थानीयहरु त्यही चिरा परेको घरमा बसोबास गर्दै आएका छन् ।
गत असोज २१ गते राति ९ः३७ बजे यहाँको बुढीगङ्गा नगरपालिकाको साविकको बाह्रबिसमा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएसँगै अहिले ती चर्किएको घरमा बास बसेका स्थानीयहरुको फेरि मनमा त्रास बढ्न थालेको हो ।
२०८० सालमा आएको भुकम्पले घर चिरा चिरा परेको छ । त्यसलाई मर्मत गर्न नसक्दा अहिले सबै परिवार त्यसै घरमा बसोबास गर्दै आएका छौ । हिजो राति गएको भुकम्पले फेरि हल्लाएपछि अब घर भत्किएर ज्यान जान्छ की भन्ने मनमा निकै डर लाग्न थालेको बुढीगङ्गा नगरपालिकाका स्थानीय नरेश नेपालीले बताए।
पहिलाको भुकम्पले दिएको घाउँ निको नहुँदै अहिले फेरि घर हल्लिन थालेपछि अब हिउँदको चिसोमा घर छोडेर बाहिर कहाँ बास बस्ने निकै चिन्ता सुरु भएको नेपाली बताए।
वर्खाको समय पानीले भत्किने हो की भन्ने डर थियो । अहिले घाम लागेसँगै फेरि भुकम्प आउने जाने गरेको र हिउँदको महिनामा पनि घरमा राम्रोसँग बास बस्न नपाउने अवस्था रहेको स्थानीय आईते दमाईले बताए । २०७९ माघ १० गतेको भूकम्पले यहाँको गौमुल, हिमाली, बुढीगङ्गा बडीमालिका लगायतका अधिकांश घर चिरा चिरा पारेको थियो ।
त्यसैगरी, २०८१ पुस ६ गते जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसले यहाँका १०८ भन्दा बढी घर ध्वस्त भएका थिए भने ४६० घरमा सामान्य क्षति पुर्याएको थियो ।
यता बाजुरामा भुकम्पको कारण १२६ पूर्ण, १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याकङ्मा उल्लेख गरिएको छ । यहाँ भुकम्पले मानवीय क्षति नभएपनि भौतिक रुपमा भने क्षति हुने गरेको प्रहरीले जनाएको छ ।
भुकम्प प्रभावितका लागि करिब सात करोड रुपियाँ आएको थियो । त्यो रुपियाँ स्थानीय तहको खातामा राखि दिएका थियौ । यहाँका त्रिवेणी , हिमाली र खप्तड छेडेदह लगायतका केही भुकम्प प्रभावितहरुले त्यो पैसामा घर मर्मत तथा टहरा निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले जनाएको छ ।