धनगढी, २४ असोज / खेलाडीको व्यवसायीकरण तथा खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको निसर्ग इन्डो-नेपाल जुगेडा कप २०८३ भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि भारतको टिम सुडाले लगातार तेस्रो पटक जितेको छ।
फाइनल खेलमा भारतको टिम सुडा र नेपालको टिम कोहिनुर स्पाबीच प्रतिस्पर्धा भएको थियो। सोझो सेटमा कोहिनुर स्पा नेपाललाई पराजित गर्दै सुडा भारतले उपाधि जितेको हो।
उपाधि जितेको सुडा भारतले नगद दुई लाख रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको कोहिनुर स्पा नेपालले नगद एक लाख रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको प्रतियोगिताका मूल संयोजक सुरज रानाले जानकारी दिए।
प्रतियोगिताको सेमिफाइनलमा पुगेका भारतको नैनीताल टिम र सेवा प्रिन्टिङ प्रेसले जनही नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि सामाजिक, शैक्षिक, खेलकुद र स्वास्थ्य क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नागरिकको स्वास्थ्यप्रति नैतिक जिम्मेवारी बहन गर्न निसर्ग अस्पताल सधैँ तयार रहेको बताउँदै पन्तले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आए अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिए। उनले राष्ट्रिय खेल भलिबललाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा समेत जोड दिए।
प्रतियोगिताको समापन समारोहमा आयोजक समितिका पदाधिकारी, धनगढी उपमहानगरपालिका–१० का वडाध्यक्षसहित जनप्रतिनिधि, प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुदूरपश्चिम खेलकुद परिषद्का पदाधिकारी तथा अन्तिम खेल हेर्न पुगेका हजारौँ दर्शकको उपस्थिति रहेको मूल संयोजक रानाले जानकारी दिए।
समापन समारोहका अध्यक्ष भगीरथ रानाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।