धनगढी, २२ असोज / मेल्लेख गाउँपालिका–४ कुस्कोटस्थित बासुकी माध्यमिक विद्यालयमा गोकुलबहादुर शाह विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि झन्डै ९ करोड रुपैयाँ बराबरका भौतिक पूर्वाधार तथा शैक्षिक सुधारका काम अघि बढेका छन्।
नेपाली कांग्रेस अछामका युवा नेता तथा जिल्ला खेलकुद समितिका अध्यक्षसमेत रहेका शाह २०८० सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए। अध्यक्ष बनेको पहिलो वर्षमै विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि पहल गरेका उनले त्यसपछि विद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर विभिन्न निकायमा पहल गरेका थिए।
शाहको पहलपछि सामाजिक विकास मन्त्रालयबाट ४१ लाख रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण भएको छ। यस्तै मेल्लेख गाउँपालिकाबाट ७० लाख रुपैयाँको लागतमा चारकोठे भवन निर्माण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयको पूर्वाधार विकासमा सबैभन्दा ठूलो योजनाका रूपमा भारतीय दूतावासको सहयोगमा करिब ७ करोड ३१ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ। भवन निर्माणको कामसमेत सुरु भइसकेको छ।
विद्यालयमा खानेपानीको समस्या समाधान गर्न करिब ५ लाख रुपैयाँको लागतमा खानेपानी ट्यांकी निर्माण गरिएको छ। यस्तै करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको शौचालय निर्माण गरिएको छ।
शैक्षिक सुधार र अक्षयकोष निर्माणका लागि विद्यालयले देउसी–भैलो कार्यक्रममार्फत करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ। संकलित रकममध्ये १० लाख रुपैयाँ विद्यालयको खातामा जम्मा गरिएको छ भने थप ४ लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसमेत खातामा जम्मा गरिएको विद्यालय पक्षले जनाएको छ।
त्यसैगरी विद्यालयको पूर्वाधार संरक्षण तथा व्यवस्थापनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको तटबन्धन निर्माण गरिएको छ। रेडक्रसको सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको ग्याबिन जालीसमेत विद्यालय परिसरमा राखिएको छ।
अध्यक्ष शाहको कार्यकालमा कक्षा ११ र १२ सञ्चालनदेखि नयाँ भवन निर्माण, खानेपानी, शौचालय, तटबन्धन तथा अक्षयकोष निर्माणसम्मका काम अघि बढेका हुन्।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शाहले सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्दै विद्यालयको विकासका लागि निरन्तर पहल गरेको विद्यालय स्रोतले जनाएको छ। उनको कार्यकालमा सुरु भएका तथा निर्माणाधीन योजनाले आगामी दिनमा बासुकी माविको भौतिक तथा शैक्षिक अवस्था सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष पदबाट बिदा हुँदै गर्दा शाहले विद्यालयको विकासका लागि आफूले थालेका कामलाई आगामी नेतृत्वले निरन्तरता दिन आग्रह समेत गरेका छन्।