धनगढी, १९ असोज / जुम्ल्याहा शिशुलाई जन्म दिएर अत्याधिक रक्तश्राव हुँदा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत स्टाफ नर्स सुशिला विकको निधन भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भएकी सुशीलाको आईतबार निधन भएको हो ।
प्रसूतिका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन । सो क्रममा एउटा शिशु मृत अवस्थामा जन्मिएको थियो भने अर्को शिशु जीवितै जन्मिएको उनका कान्छा ससुरा दीपक वडले जानकारी दिए ।
शिशु जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण विकको निधन भएको उनले बताए । विक २०७८ सालदेखि नर्सिङ कर्मचारीका रुपमा सेवा करार कार्यक्रमअन्तर्गत सेती प्रादेशिक अस्पतालमा कार्यरत थिइन् ।
विकको निधनप्रति सेती प्रादेशिक अस्पतालले समेत शोक वक्तव्य जारी गरेको छ । अस्पतालले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।