काठमाडौं, २४ असोज / वरिष्ठ साहित्यकार प्राडा. शिवगोपाल रिसाललाई मनिराज वाङमय पुरस्कार २०८३ प्रदान गरिएको छ । पुरस्कारको संस्थापक वरिष्ठ साहित्यकार तथा ज्योतिष मनिराज जोशीको नेतृत्वमा आयोजित कार्यक्रममा आज उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कैलालीका साहित्यकार जोशीले स्थापना गरेको पुरस्कारको राशि एकलाख रुपियाँ र सम्मानपत्र रहेको छ । साहित्यकार रिसाल अस्वस्थ रहेकाले उनकै निवास ललितपुरको भैंसेपाटीमा सो पुरस्कार शनिबार समर्पित गरिएको साहित्यकार जोशीले बताए । साहित्यकार रिसाललाई पुरस्कारका संस्थापक जोशीले पुरस्कार हस्तान्तरण गरे ।
सो अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, साहित्यकारहरु नरेन्द्र प्रसाईं, डा. अनन्त रिसाल लगायतको सहभागिता थियो । यसअघि सो पुरस्कारबाट माधव घिमिरे, दधिराज सुवेदी, लोकेन्द्रबहादुर चन्द, डा. वासुदेव त्रिपाठी, चुडामणि बन्धु लगायत पुरस्कृत भइसकेका छन् ।