धनगढी , २४ असोज / शनिवार दिउँसो ४ बजे ल्याउने भनिएको सुदूरपश्चिमको बजेटको भाका पुनः सरेका छ । शनिवार बिहानबाट साँझ ल्याउने भनिए पनि साँझबाट पुन आइतबार बिहान ९ बजे बजेट ल्याउने भाका सारिएको हो ।
यसअघि कमल बहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेट पास नभएर सरकार ढलेपछि साउन अन्तिम साता बनेको खगराज भट्ट नेतृत्वको सरकारले पटक पटक बजेट ल्याउने भाका दिँदै आएको छ । मुख्यमन्त्री भए पछि सुरुमा भदौ पहिलो साता बजेट ल्याउने सङ्केत गरेका मुख्यमन्त्री भट्टले पछि भदौ मसान्त हुँदै असोज १५ भित्र बजेट ल्याउने बताएका थिए ।
सो भाका पनि नाघेपछि असोज २१ गतेको मिति नै तय गरेर साँझ ५ बजे बजेट ल्याउने गरी प्रदेश सभा नै बोलाइएको थियो । सो मिति भने सर्वोच्चको आदेश कारण देखाउँदै २४ गते शनिबारका लागि धकेलियो । सर्वोच्चको फैसला असोज २३ गते नै टुङ्गिएपछि शनिवार बिहान ८ बजे बजेट आउनेमा ढुक्क भएका जनतालाई पुनः झुक्याएर दिउँसो ४ बजेको समय दिइएको थियो । तर, शनिवार साँझ सम्म बजेट ल्याउन नसकेर सरकारले पुनः आइतबार बिहान ९ बजेको समय तोकेको छ ।
शनिवार बजेट ल्याउने भनिएको समयमा मुख्यमन्त्री खगराज भट्टले आफ्नै मुख्यमन्त्री निवासमा सत्तारुढ नेपाली कम्प्युनियट पार्टी (नेकपा) र नेकपा एमालेका सांसदहरूको संयुक्त बैठक बसाएर आइतबार बिहान बजेट ल्याउने नयाँ मितिमा सहमति जुटाएका हुन ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बैठकमा आइतबार बिहान ९ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने सहमति भएको बताए । उनले सोही अनुसार बजेट प्रस्तुतिका लागि आर्थिक मामिला मन्त्रालयले बजेट प्रस्तुतिको तयारी गर्ने बताए ।
पटक पटक मिति तोक्दै ढाँट्ने काम भएकाले आइतबार बिहान पनि बजेट आउनेमा भने शङ्का कायमै छ ।
आर्थिक वर्ष सुरु भएको तीन महिना पुग्नै लाग्दा र दसैँ नजिकिँदै जाँदा सरकारको ढिलाइका कारण कर्मचारी भने तीन महिना देखि तलब विहीन छन् । बजेट ल्याउन ढिलाइ हुँदा स्वास्थ्य, शिक्षा लगायतका अन्य क्षेत्र पनि प्रभावित भएका छन् ।