विराटनगर : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएको छ।
प्रतिष्ठानका अनुसार प्लान्टको जियोलाइटमा देखिएको समस्या मर्मतपछि मंगलबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो।
गत बिहीबार प्रतिष्ठानले अक्सिजन प्लान्टमा समस्या देखिएपछि अन्यत्रबाट अक्सिजन सिलिण्डर रिफिलिंग गर्दै मेनिफोल्डमार्फत बिरामीलाई सेवा दिइरहेको थियो।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार हाल अक्सिजन प्लान्ट मर्मत भएर पूर्णरुपमा काम गर्न थालेको छ।
वीपीको अक्सिजन प्लान्टले प्रतिमिनेट १ हजार ६ सय लिटर अक्सिजन उत्पादन गर्दै आएको छ। अक्सिजन आपूर्तिमा समस्या देखिएपछि प्रतिष्ठानले बिरामी भर्ना पनि अक्सिजन सिलिण्डरको क्षमताको आधारमा लिने जनाउँदै आएको थियो।
प्रतिष्ठानमा हाल ५५ जना कोभिड १९ संक्रमति उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ।