धनगढी : बैतडीका एक पत्रकारले आफ्नो जन्मदिनको अवसर पारेर अक्सिजन खरिदका लागि सहयोग गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोदसिंह विष्टले अक्सिजन खरिदका लागि सहयोग गरेका हुन्।
पत्रकार विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग संकलन अभियानमा सहयोग गरेका हुन्। जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।
जेठ १२ गते २८ वशन्त पार गरेर २९ वशन्त प्रवेश गरेको अवसरमा २ हजार ८ सय २९ रुपैंया प्रतिष्ठानको खातामा जम्मा गरेको पत्रकार विष्टले जानकारी दिए। जन्मदिन मनाउन गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा अक्सिजन नपाएर प्राण त्याग गरिरहेका नागरिक बचाउनका लागि उक्त सहयोग गरिएको उनले बताए ।
आफ्नो सानो सहयोगले कसैको जीवन रक्षामा सहयोग पुग्ने हुँदा उक्त सहयोग गरिएको उनको भनाइ छ। बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट गएको ११ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका छन्।
प्रतिष्ठानले जन्मदिनमा फजुल खर्च कटाएर सहयोग गर्नुभएकोमा पत्रकार विष्टलाई धन्यबाद ज्ञापन गरेको छ । जेठ २ गतदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म ८ लाख ६२ हजार ९५९ रुपैंया संकलन भइसकेको प्रतिष्ठानले जनाएको छ ।
उक्त संकलित रकम अक्सिजन आपुर्तीलगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ता महेश भट्टले बताउनुभयो । उक्त अभियानमा सहयोग गर्नका लागि अपिल समेत गरिएको छ ।