काठमाडौं, १३ पुस । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षपछि नाफा आर्जन गरेको छ।
विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो।
कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेको अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनुका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न सक्ने अवस्थामा पुग्ने बताइएको छ।
कम्पनीले आव २०७६/०७७ मा खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो। न्यून जनशक्ति र साधन तथा स्रोतलाई अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ‘सञ्चोु लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सबल बन्दै गएको बताइएको छ।
यस कम्पनीमा अहिले नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन्।
सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो। अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७/७८ मा एक करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको विज्ञप्तिमा भनिएको छ।