धनगढी,१० कार्तिक / कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ब्लड बैंक (रक्तसञ्चार केन्द्र) सञ्चालनको तयारी थालिएको छ ।
विश्वविद्यालयले आफ्नै ब्लड बैंक सञ्चालन गर्ने तयारी थालेको हो ।
ब्लड बैंक स्थापनाका लागि विज्ञ टोलीले अध्ययन गरिसकेको र चाँडै सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ । ब्लड बैंक सञ्चालनका लागि तयारी अघि बढाए पनि तत्काल आवश्यक पर्ने उपकरण भने उपलब्ध नभएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयमा अत्याधुनिक उपकरणहरू रहे पनि ती सबै उपकरण तत्काल प्रयोगमा ल्याउन सकिने अवस्थामा नरहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले बताए ।
विश्वविद्यालयमा उपलब्ध उपकरणको प्राविधिक अवस्था र सञ्चालनयोग्यता मूल्याङ्कन गर्न काठमाडौँबाट रक्तसञ्चार तथा ब्लड बैंक विज्ञ डा. विपिन नेपाललाई आमन्त्रण गरिएको थियो ।
डा. नेपाल नेतृत्वको टोलीले गरेको निरीक्षणका क्रममा विश्वविद्यालयमा रहेका उपकरण अत्याधुनिक प्रविधिका भए पनि तिनलाई पूर्णरूपमा प्रयोगमा ल्याउन सेवा विस्तार भएको एकदेखि दुई वर्ष लाग्न सक्ने देखिएको हो ।
विश्वविद्यालय प्रशासनले आवश्यक उपकरण खरिदका लागि बजेट स्वीकृत गराएर प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यथाशीघ्र उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उपकुलपति जोशीले बताए ।
आफ्नै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामी तथा सेवाग्राहीलाई रगत र रगतजन्य सेवा उपलब्ध गराउन सहज हुने जोशीले बताए । उनका अनुसार विश्वविद्यालयले सामान्य ब्लड बैंक सञ्चालनमा मात्र सीमित नभई रगतका विभिन्न तत्व छुट्याउने आधुनिक प्रयोगशाला स्थापना गर्ने योजना छ । त्यसका साथै एन्टीबडीमा आधारित इम्युन थेरापीसम्मका उच्चस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य विश्वविद्यालयले राखेको छ ।