धनगढी, १० कार्तिक/ धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डोटीका एक घाइते बिरामी सात दिनदेखि इमर्जेन्सी वार्डमै उपचाररत छन्। भिरबाट लडेर गम्भीर घाइते भएका बडिकेदार गाउँपालिका-४, पुन्तडाका एकेन्द्र जेठाराको घाँटी र कम्मर भाँचिएको छ। थप उपचारका लागि विशेषज्ञ चिकित्सक आवश्यक भए पनि अस्पतालमा सम्बन्धित चिकित्सक नहुँदा उनको उपचारमा समस्या भएको हो।
गत कार्तिक २ गते भिरबाट लडेर घाइते भएका जेठारा त्यसयता सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा छन्। सुरुमा दशैँ बिदाका कारण चिकित्सक उपलब्ध नभएपछि इमर्जेन्सीमै राखेर उपचार गराइएको बिरामीका भाइ देवबहादुर जेठाराले बताए। ‘दशैँ बिदाका कारण डाक्टर नभएपछि इमर्जेन्सीमै राखेर उपचार गराइरहेका थियौँ। अहिले आएर यहाँ उपचार सम्भव नभएको बताइएको छ,’ उनले भने। उनका अनुसार बिरामीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
इमर्जेन्सी वार्डका इन्चार्ज डा। अनिरुद्र थापलियाले न्युरोसम्बन्धी विशेषज्ञ चिकित्सक उपलब्ध नभएका कारण बिरामीको उपचारमा समस्या भएको बताए। बिरामीको इमर्जेन्सी वार्डमै हेरचाह भइरहेको उल्लेख गर्दै उनले थप उपचारका लागि अन्यत्र पठाउने व्यवस्था गरिएको जानकारी दिए।
आर्थिक अभावका कारण थप उपचारका लागि नेपालगञ्ज जान समस्या भएपछि बिरामीका आफन्त सहयोग जुटाउने प्रयासमा छन्। नेपाली कांग्रेस डोटीका सचिव केशवबहादुर बमले बिरामीको थप उपचारका लागि आवश्यक रकम जुटाएर व्यवस्थापन गर्न लागिएको बताए। अस्पतालको अवस्था र सेवा प्रवाहप्रति प्रश्न उठाउँदै युवा नेता बमले मुख्यमन्त्रीले पटक–पटक अस्पतालको अनुगमन गरे पनि बिरामीले सहज रूपमा विशेषज्ञ सेवा पाउन नसकेको बताए।