धनगढी, १ कार्तिक/ धनगढीको मुख्य व्यापारिक केन्द्र मेनरोडमा सञ्चालित बालकृष्ण मोबाइल इलेक्ट्रोनिक्सले फूलपातीको अवसर पारेर आफ्नो नयाँ रिटेल आउटलेट सञ्चालनमा ल्याएको हो ।शनिबार एक कार्यक्रमको आयोजना गरि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा र सञ्चालक बलबहादुर भुलका ठूलो बुवा सन्ते भुलले संयुक्त रूपमा आउटलेटको उद्घाटन गरेका हुन् ।
मेहनत, लगनशीलता र आत्मविश्वासलाई सफलताको आधार बनाउँदै मोबाइल व्यवसायमा आफ्नो पहिचान स्थापित गरेका बलबहादुर भुलले धनगढीमा व्यवसाय विस्तार गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमबीच नयाँ रिटेल आउटलेटको उद्घाटन गरिएको हो । मोबाइल व्यवसायमा करिब १५–१६ वर्षदेखि सक्रिय भुलका लागि नयाँ रिटेल आउटलेट केवल व्यवसाय विस्तार मात्र नभई लामो समयको अनुभव, निरन्तर मेहनत र पारिवारिक साथको प्रतिफल पनि हो । शून्यबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै उनले आत्मविश्वास र लगनशीलताका साथ निरन्तर मेहनत गर्न सके सफलता हासिल गर्न सकिने बताए ।
बालकृष्ण मोबाइल इलेक्ट्रोनिक्सले रिटेल व्यवसायसँगै विभिन्न स्थानमा चारवटा शाखा मार्फत होलसेल कारोबारसमेत सञ्चालन गर्दै आएको सञ्चालक भुलले जानकारी दिए । लामो समयदेखि मोबाइलको व्यापारमा संलग्न रहँदै आएका उनले ग्राहकको आवश्यकता र बजारको मागअनुसार व्यवसायलाई विस्तार गर्दै लगेको बताए । भारतमा इलेक्ट्रोनिक्ससम्बन्धी सीप सिकेका बलबहादुरले सुरुमा कैलालीको लम्कीबाट व्यवसाय सुरु गरेका थिए । सानो लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले धनगढीका दुई स्थान, नेपालगन्ज हुँदै काठमाडौंसम्म विस्तार भएको छ । भुल परिवारका सदस्यहरूले विभिन्न स्थानमा इलेक्ट्रोनिक्ससम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका छन् । नवनिर्मित पसलमा विभिन्न ब्रान्डका मोबाइल फोन तथा इलेक्ट्रोनिक्स सामग्री उपलब्ध हुने सञ्चालकले जनाएका छन् । ग्राहकलाई आकर्षित गर्न पसलले विभिन्न अफर, विशेष छुट तथा उपहारको व्यवस्थासमेत गरेको जनाएको छ । नयाँ रिटेल आउटलेटमा ग्राहकले विभिन्न चर्चित ब्रान्डका मोबाइल फोन एकै ठाउँमा खरिद गर्न सक्नेछन् । यहाँ आइफोन, रेड्मी, रियलमी, सामसुङ, इन्फिनिक्स, ओप्पो, भिभो, साओमी लगायतका ब्रान्डका मोबाइल उपलब्ध हुने सञ्चालकले जानकारी दिएका छन् ।
दशैंको अवसरलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुटको व्यवस्था पनि गरिएको छ । चाडपर्वको समयमा नयाँ मोबाइल खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउने उद्देश्यले विशेष छुटको व्यवस्था गरिएको भुलले बताए । व्यवसायलाई अगाडि बढाउन परिवारको साथ र सहयोग महत्त्वपूर्ण रहेको उनको भनाइ छ। सम्पूर्ण परिवारको साथ, सहयोग र सामूहिक प्रयासबाट आफूले व्यवसायलाई निरन्तर अगाडि बढाउन सकेको उनले बताए ।
रिटेल आउटलेट उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले सञ्चालक परिवारलाई बधाई तथा शुभकामना दिँदै युवाहरू व्यवसाय र उद्यमशीलतामा आकर्षित हुनु सकारात्मक पक्ष भएको बताए । युवाहरूले आफ्नै लगानी, सीप र मेहनतबाट व्यवसाय सञ्चालन गरी आर्थिक गतिविधिमा योगदान पु¥याउनु सुखद रहेको उनको भनाइ थियो।
धनगढीको व्यस्त व्यापारिक क्षेत्रमा नयाँ रिटेल आउटलेट सञ्चालनमा आएसँगै ग्राहकले विभिन्न ब्रान्डका मोबाइल फोन खरिद गर्न थप सहजता हुने संचालक बलबहादुर भुलले जानकारी दिए ।