कञ्चनपुर,१३ कार्तिक / फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छिन् ।
आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी हुन् । कृषि जेटिए अध्ययनपछि उनले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन् ।
तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ । विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको उनको भनाइ छ ।
उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताइन् । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ ।
परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उनको भनाइ छ ।