धनगढी,६ कार्तिक / कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा लालझाडी संरक्षित क्षेत्रबाट आएका जंगली हात्तीको बथानले धानबालीमा क्षति पुर्याएको छ।
मिलनचोकस्थित स्थानीय गीता गुरुङले १० कट्ठा क्षेत्रफलमा लगाएको धानबालीमा बिहीबार राति जंगली हात्तीको बथानले नोक्सानी गरेको हो।
धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले लालझाडी संरक्षित क्षेत्रबाट आएका हात्तीले धानबालीमा क्षति पुर्याएको जानकारी दिएका छन्।
धान भित्र्याउने समय नजिकिँदै गर्दा जंगली हात्तीको बथानले खेतमै पुगेर बाली नष्ट गरेपछि किसानलाई आर्थिक क्षति हुने चिन्ता बढेको छ। मेहनत र लगानी गरेर उत्पादन गरेको बाली जंगली जनावरले नष्ट गर्दा किसान थप समस्यामा पर्ने गरेका छन्।
जंगली हात्तीको आवतजावत र बालीमा हुने क्षति रोक्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने देखिएको छ। साथै, प्रभावित किसानलाई क्षतिको विवरण संकलन गरी राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।