धनगढी,११ कार्तिक / नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको दीपावलीपछि हुने कैलाली जिल्ला अधिवेशनमा सभापतिका लागि ६ परिचित अनुहार भिड्दैछन् ।
जिल्ला सभापतिका लागि खेमराज चौधरी, शेरबहादुर देउवा, वीरेन्द्र भट्ट, नवराज रावल, युवा नेता विनय लामा र यज्ञराज उपाध्याय आकांक्षी रहेका छन् ।
नियमित महाधिवेशन पक्षधरको असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन, असोज २० गते पालिका हुँदै क्षेत्र र प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेको छ । दीपावलीपछि कैलालीको जिल्ला अधिवेशनका लागि अहिले चहलपहल बढेको छ । सभापतिका आकांक्षीहरु आन्तरिक रुपमा निर्वाचन प्रतिनिधि भेटघाटमा व्यस्त छन् । जिल्ला सभापतिका लागि आफ्नो पक्षमा माहोल बनाउन ६ वटै नेताहरु जिल्ला दौडाहमा छन् । अधिवेशनमा जिल्ला भरिका तीन हजार क्षेत्रीय प्रतिनिधिले भाग लिने छन् ।
दीपावलीपछि जिल्ला अधिवेशन हुने बताउँदै नेपाली कांग्रेस देउवा पक्षीय केन्द्रीय सदस्य नृपबहादुर वडले भने,‘अधिवेशनको तयारी तीब्र चलिरहेको छ, सभापतिका लागि हामी सहमतिकै प्रयास गर्नेछौं ।’