धनगढी, १० कार्तिक/ सुदूरपश्चिमका ऐतिहासिक सहिद बाँकाबीर (बलदेव शाह)लाई राष्ट्रिय पहिचान दिलाउने अभियानमा प्रदेश सरकारले पर्याप्त चासो नदिएको भन्दै नवलसिंह फाउन्डेसनले आपत्ति जनाएको छ। फाउन्डेसनका संयोजक तपेन्द्र रावलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटमा पत्रकार सम्मेलन गर्दै बाँकाबीरको सम्मान, ऐतिहासिक पर्यटन विकास र हवाई भाडामा समानताको मागसहित सरकारको ध्यानाकर्षण गराएका हुन्।
रावलले सुदूरपश्चिमको गौरवका रूपमा रहेका बाँकाबीरको योगदानलाई उचित सम्मान दिन नसक्नु क्षेत्रको इतिहासलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे। उनले बाँकाबीरलाई नेपालको पहिलो सहिदका रूपमा राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्ने माग दोहोर्याए।
उनका अनुसार राणा शासनविरुद्ध संघर्ष गरेका बलदेव शाहको वि.सं १९०६ तिर हत्या गरिएको थियो भने लखन थापालाई वि.सं १९३३ मा मृत्युदण्ड दिइएको थियो। सुदूरपश्चिममा जन्मिएका तथा यस क्षेत्रसँग जोडिएका बाँकाबीरको योगदान लामो समयदेखि ओझेलमा परेको उल्लेख गर्दै रावलले ऐतिहासिक अन्याय सच्याउनुपर्ने बताए।
फाउन्डेसनले कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित बाँका स्थानमा बाँकाबीरको सालिक स्थापना गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि बाँकाबीरलाई पहिलो सहिद घोषणा गर्न संघीय सरकारसमक्ष प्रस्ताव पठाइसकेको बताइएको छ। सुदूरपश्चिम विश्वविद्यालयले पाठ्यक्रममा बाँकाबीरलाई समावेश गरेको विषयलाई रावलले सकारात्मक रूपमा लिएका छन्।
तर, बाँकाबीर स्मारक स्थलको विकास तथा सुदूरपश्चिमका ऐतिहासिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्याप्त बजेट विनियोजन नभएको उनको गुनासो छ। सहिदको योगदानलाई राष्ट्रिय स्तरमा चिनाउन स्मारक स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्ने उनले बताए।
बालेन्द्र शाह (बालेन) बाँकाबीर (बलदेव शाह) कै सन्तान हुन सक्ने सम्भावना
नवलसिंह फाउन्डेसनका संयोजक तपेन्द्र राबलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाँकाबीर (बलदेव शाह) कै सन्तान हुन सक्ने सम्भावना औंल्याएका छन्। राबलले बाँकाबीरको इतिहास, योगदान र हालको प्रधानमन्त्रीसँगको सम्भावित सम्बन्धबारे आफ्ना विचार राखेका छन्। बाँकाबीरलाई उनीहरूले नेपालको पहिलो सहिदका रूपमा चिनाउने अभियान चलाउँदै आएका छन्।
राबलले प्रधानमन्त्री बालेन शाह पनि बाँकाबीरकै वंशज हुन सक्ने धारणा व्यक्त गरेका छन्। बालेन शाहको परिवार मूलतः मधेश प्रदेशको महोत्तरी जिल्लासँग जोडिएको छ भने उनी आयुर्वेदिक चिकित्सक रामनारायण शाह र ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। राबलले यस सम्भावनालाई इतिहास, नाम र योगदानको सन्दर्भमा जोडेर प्रस्तुत गरेका छन्।
हवाई भाडामा समानताको माग
रावलले पर्यटन विकासमा बाधकका रूपमा नेपाली र विदेशी पर्यटकबीच कायम हवाई भाडाको विभेदलाई समेत औँल्याएका छन्। एउटै विमानमा यात्रा गर्दा विदेशी पर्यटकले नेपाली नागरिकभन्दा बढी भाडा तिर्नुपर्ने व्यवस्था उचित नभएको उनको भनाइ छ।
यस्तो विभेदले विदेशी पर्यटकलाई काठमाडौं, पोखरा र चितवनजस्ता सीमित गन्तव्यमा केन्द्रित गराएको दाबी गर्दै उनले हवाई भाडामा समानता कायम गर्नुपर्ने माग गरेका छन्। यस विषयमा उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्। हवाई भाडादरमा समानता कायम भएमा सुदूरपश्चिमसहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको पहुँच विस्तार हुने र पर्यटन क्षेत्रले लाभ लिन सक्ने रावलको विश्वास छ।
पर्यटन व्यवसायीसमेत रहेका रावल नर्वेबाट फर्किएपछि बाँकाबीरको ऐतिहासिक योगदानलाई राष्ट्रिय पहिचान दिलाउने तथा पर्यटन क्षेत्रका समस्या समाधानका लागि सक्रिय रहँदै आएका छन्। उनले बाँकाबीरलाई राष्ट्रिय स्तरमा सहिदका रूपमा स्थापित गर्न, स्मारक स्थल तथा पर्यटन विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न र हवाई भाडामा समानता कायम गर्न सरकारसँग माग गरेका छन्।