अछाम, ९ कार्तिक / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर -१ को आठौँ क्षेत्रीय अधिवेशन भोलि कात्तिक १० गते साफेबगरमा हुने भएको छ।
नेपाली कांग्रेस अछामका जिल्ला संयोजक कृष्णबहादुर बुढा र जिल्ला उपसभापति अर्जुन ताम्राकारले क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वटै वडाका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई अधिवेशनमा उपस्थितिका लागि जानकारी गरी सकिएको बताएका छन्।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा निवर्तमान सामाजिक विकासमन्त्री मेघराज खड्का विशिष्ट अतिथिका रूपमा सहभागी हुने छन्।
पार्टीको १५औँ नियमित महाधिवेशनको प्रक्रियाअन्तर्गत आयोजना हुन लागेको क्षेत्रीय अधिवेशनले क्षेत्रीय तहको संगठनात्मक गतिविधि र नेतृत्वसम्बन्धी प्रक्रियालाई अघि बढाउने अपेक्षा गरिएको छ। अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा सहभागिताका लागि सम्बन्धित नेता, कार्यकर्ता र प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।
नेपाली कांग्रेस अछामको सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका संयोजक पृथ्वीबहादुर शाहले अधिवेशनबारे जानकारी दिँदै क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वटै वडाका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको बताए। उनले अधिवेशनलाई भव्य र सभ्य रूपमा सफल पार्न सबैको सहभागिता महत्त्वपूर्ण रहने बताए।
भोलि (कात्तिक १० गते) साफेबगरमा हुने अधिवेशनमा पार्टीका नेता तथा प्रतिनिधिहरूको सहभागिताले अधिवेशन उल्लासमय वातावरणमा सम्पन्न हुने कांग्रेस अछाम क्षेत्र नम्बर १ ले जनाएको छ।