अत्तरिया, १० कार्तिक / कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको अत्तरिया बसपार्क सँगै जोडिएको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा भगवान् भेटिएको भन्दै रातारात पिल्लर गाडिएको पाइएको छ ।
बसपार्कको उत्तर पट्टि उच्चो भागमा माटोभित्र भगवती, दुर्गा, नवदुर्गा, भवानीका मूर्ति भेटिएको भन्दै सो क्षेत्र वरिपरि सामुदायिक वनलाई समेत जानकारी नदिएर फलामका पिल्लर गाडिएका हुन ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका – २ घर भई विगत ४ वर्ष देखि गोदावरी नगरपालिका – २ मा बस्दै आएका मदन राज भट्टले सो क्षेत्रमा औँसीको राती भगवान् प्रकट भएर भोग लगाउन भनेपछि धूप बत्ती बाल्न सुरु गरेको बताए । पछि माटो भित्र भगवानका मूर्ति भेटिएको बताउँदै उनले मानिसहरू आफै आएर पूजा गर्नका लागि सामाग्री दिन थालेको बताए । उनले चारैतिर पिल्लर भने कसले गाडेको भनेर जानकारी नभएको बताए ।
‘मलाई २ वर्ष अगाडी देखि यो देवताले समातेको छ । प्रार साउनमा पनि बोलायो, पुसमा पनि बोलायो, पोहोरको साउनमा पनि बोलायो पुसमा पनि बोलायो, यो वर्षको साउनमा पनि बोलायो, भदौमा म बढीमालिका गए, मालिकाबाट आएको दिन देखि मलाई सुत्न मिल्या छैन । यो औँसीको रातिमा शिव, गौरी र गणेश प्रत्यक्ष प्रकट भए । तपाइले जसरी पनि हामीलाई भोग लगाउनु पर्छ हामी तिन युग देखि भोकै छौ भनेका छन्’ उनले भने ‘तर, मलाई यो कुरा नभन भनेका छन् । मेरा भक्त आफै आउछन, आफै सेवा गर्छन्, त धूप बत्ती गरेर भोक मात्रै लगा भनेका छन् ।’
उनले आफूले १५ दिन देखि धूप बत्ती गरेको र कसैलाई पनि नबोलाएको बताए । उनले नेटको घेर बार आफूले हाले पनि पिल्लर हालेको बारेमा जानकारी नभएको बताए । उक्त उँचो भागको चारैतिर तार बार गर्नका लागि सिमेन्टले ढलान गरेर फलामका पिल्लर हालिएका छन् ।
पुजारी भट्टले भने आफूकहाँ आउने कसैलाई पनि नचिन्ने गरेको दाबी गरे । उनले आफू लगायत दुई जना नचिनेका मान्छेले साढे तिन घण्टा लगाएर खोदेर माटोभित्र भगवती, दुर्गा, नवदुर्गा, भवानी प्रत्यक्ष घोडामा बसेको भेटाएको बताए । उनले आफूले कसैलाई नबोलाए पनि मानिसहरू घाट, नेजा, धूप लिएर आएर चढाउने गरेको बताए ।
उनले सो ठाउँमा तराइमा आएका सबैले कुल देवताको गात राखेर पुज्न सक्ने दाबी गरे । ‘यो ठाउँ आत्तर ऋषिको आश्रम हो, त्यो आश्रमको बेला यहाँ देवताहरू बस्ने रहेछन् । देवताहरूले छलफल गरेर यताबाट पहाड गएको कुरा मलाई भनेका छन्’ उनले भने ‘यो विधानको हिसाबमा उत्तम रहेको छ, संरक्षण गरे मधेसका मानिसको भलो हुने छ ।’ उनले तराइमा बसेका जम्मैका कुल देवता सो क्षेत्रमा रहेको बताए । उनले आफू ३३ कोटी देवताको मान्छे भएको बताउँदै भगवानले खोल भनेर मात्रै खोलिदिएको बताए ।
वनकी अध्यक्ष सिवा कडायतले भने देवीको नाममा वन ओगट्ने मनसाय भएको बताइन् । उनले देवी नै आएर प्रकट भए पनि आफूहरूले त्यसको संरक्षण गर्ने बताउँदै आफूहरूलाई जानकारी नै नदिएर तराबार गर्ने तयारी गर्नु अतिक्रमण गर्ने योजना मात्रै भएको बताइन् । उनले यहाँ भेटिए जस्तो हरेक डाँडामा मूर्ति जस्ता ढुङ्गा भेटिने गरेको बताइन् ।
‘हामी पनि हिन्दु हौ । हामी पनि धर्म मान्छौ । यी देवी देवता हुन भने हामी संरक्षण गर्छौ’ उनले भनिन ‘यहाँ नआएर कुनै सामुदायिक वनलाई जानकारी नै नदिएर पिल्लर हालिएको छ । यो सामुदायिक वन ओगट्ने बहाना हो ।’ उनले वनमा गाडिएका पिल्लर निकाल्ने बताइन् । उनले वन कार्यालयलाई पनि यस विषयमा जानकारी दिने बताइन् । उनले भगवान् नै हो भने हामै आफै संरक्षण गर्ने बताइन् ।