धनगढी २३ फागुन/सुदूरपश्चिम प्रदेशसभाले गोदावरी नगरपालिकाको २ र ४ नम्बर वडामा पर्ने तेघरीमा प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णय गरेको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । २०७५ असोज १२ गते प्रदेशसभा बैठकले स्थायी राजधानीको टुङ्गो लगाएको हो ।
प्रदेश राजधानीका लागि प्रशासनिक भवन निर्माण गर्न ४ सय बिगाहा जग्गा छुट्याइएको छ । तर सो जग्गा छुट्याइएको दुई वर्ष बितिसक्दासमेत त्यहाँ कुनै भौतिक संरचना निर्माणको काम सुरु हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भई अध्ययन प्रकृया अघि बढाएको जानकारी दिए । सो प्रतिवेदन स्वीकृत भइसकेपछि संरचना निर्माणको कामले गति लिने उनको भनाइ छ । ‘हाम्रो तर्फबाट ढिलासुस्ती भएको छैन, सो क्षेत्रमा राष्ट्रिय वन भएका कारण जग्गा प्राप्तिका लागि विभिन्न चरणमा अध्ययन गर्नुपर्ने भएकाले समय लागेको हो,’ उनले भने, ‘डिपीआर तयार हुँदैछ, टेण्डर खोलेर काम सुरु गर्न अझै ६ महिनाजति लाग्न सक्छ ।’
उनले भौतिक संरचनाको पूर्वाधार निर्माणमा ५० बिगाहा जग्गा आवश्यक पर्ने बताए । वातावरणमा प्रभाव पर्ने किसिमले धेरै रुख पनि नकाटिने र हरियाली जंगलभित्रको शहरका रुपमा राजधानी निर्माणको काम अघि बढाउने सरकारको अवधारणा रहेको उनको भनाइ छ ।