कञ्चनपुर ,१५ कार्तिक / कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पु¥याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो । हात्तीको आवागमनसम्बन्धी सूचना सङ्कलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न रेडियो कलरको व्यवस्था गर्न विभागले अनुरोध गरेको छ ।
रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताइन । यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
मन्त्री चौधरीका अनुसार रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा काम गरिनेछ । हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गरिने जनाइएको छ ।