धनगढी, १५ कात्तिक/नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशनअन्तर्गत कैलालीको जिल्ला अधिवेशन मंसिरको पहिलो साता गर्ने निर्णय भएको छ। केन्द्रीय तालिकाअनुसार कात्तिक १५ गते तोकिएको अधिवेशन दशैं-तिहारका कारण प्रभावित भएपछि मिति सार्ने निर्णय गरिएको हो।
नेपाली कांग्रेस कैलालीका संयोजक खेमराजा चौधरी डगौराको अध्यक्षतामा धनगढीमा आयोजित संयुक्त बैठकले यो निर्णय गरेको हो। बैठकमा कैलालीका नवनिर्वाचित क्षेत्रीय सभापतिहरू, १३ वटै पालिकाका सभापतिहरू र जिल्ला स्तरका नेताहरूको सहभागिता रहेको थियो।
सबै क्षेत्र र पालिका अधिवेशन सम्पन्न भइसकेको र जिल्ला अधिवेशनको तयारी दशैं–तिहारका कारण प्रभावित भएकाले मंसिर पहिलो साता गर्ने निर्णय भएको नेता यज्ञराज उपाध्यायले जानकारी दिए। वर्षाका कारण खेतीपातीमा व्यस्त रहेका क्षेत्रीय प्रतिनिधिहरूको अवस्था समेत विचार गरी अधिवेशन मिति सारिएको उनले बताए।