धनगढी,१५ कार्तिक / सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा धान खरिद बिक्रीका लागि धानको समर्थन मूल्य पहिले नै निर्धारण गरे पनि कैलालीका किसान सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् ।
समर्थन मूल्य अनुसार निजी व्यापारीहरूले धान खरिद नगरेपछि उनीहरू सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् ।
सरकारले चालु आव मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय रुपियाँ निर्धारण गरेको छ । यसै गरी मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० तोकिएको छ । गत वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ तोकिएको थियो ।
सरकारले गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढाएर निर्धारण गरे पनि किसानले भने विगतकै भाउदरमा निजी व्यापारीलाई धान बिक्री गरिरहेका छन् । गाउँतिर व्यापारीहरूले प्रतिक्विन्टल दुई हजार ६०० रुपियाँमा धान खरिद गरिरहेको कैलारी गाउँपालिकाका रेवन्त बोहराले बताउए । उनले धानको मूल्य बढ्दा पनि किसानको नियति भने उस्तै रहेको उनको भनाइ छ । केही वर्षयता भारतीय बजारभन्दा नेपालमा धानको मूल्य बढी भए पनि यस पटक त्यहाँभन्दा सस्तो रहेको उनले बताए ।
छिमेकी भारतीय बजारमा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९०५ रुपियाँ रहेको छ । भारतमा निजी व्यापारीहरूले पनि प्रतिक्विन्टल तीन हजार ३६० रुपियाँ (दुई हजार १०० भारु) मा धान खरिदबिक्री गरिरहेका छन् ।
नेपालमा भने किसानले न्यूनतम समर्थन मूल्यभन्दा एक हजार ६० रुपियाँ कममा धान बिक्री गरिरहेका छन् । धान बिक्री गरेर तोरी, गहुँका लागि मल, बिउबिजनसहित अन्य कृषि सामग्री खरिद गर्नुपर्ने भएकाले किसानले सस्तैमा भए पनि धान बेचिरहेको जनाएका छन् । गहुँ बालीका लागि आवश्यक खर्च जुटाउन किसानले सस्तोमै धान बेच्नु परेको कृषक जित रावतको ठम्याइ छ ।
जिल्लामा धान भित्र्याइसकेपछि किसान तोरी छर्ने तयारीमा छन् । यसै गरी गहुँका लागि मल, इनधनको जोहोमा उनीहरूको दौडधुप बढेको छ । यो बेला किसान धान बेच्न बाध्य रहेकाले सरकारले मूल्य तोक्ने कार्य मात्रै नगरी त्यसलाई कार्यान्वयन पनि गर्नुपर्ने कृषक देवेन्द्र चौधरीले बताउनुभयो । उहाँले किसानलाई उचित मूल्य दिलाउन नसक्नु सरकारकै कमीकमजोरी रहेको औँल्याउनुभयो । कैलालीमा यस वर्ष ६३ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो । कृषि ज्ञान केन्द्रले यस वर्ष धान उत्पादन बढ्ने जनाएको छ ।