धनगढी, फागुन २२/नेपाली काँग्रेस कैलालीले पार्टीको नयाँ क्रियाशील सदस्यता वितरण कार्य प्रारम्भ गरेको छ । आगामी १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरणको कामलाई तीव्रता दिएको हो । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम जिल्ला मार्फत हस्तान्तरण भएका क्रियाशील सदस्यता फाराम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति हुँदै वडा कार्यसमितिसम्म पुग्नेछन् ।
यसअघि पुराना क्रियाशील सदस्यता नवीकरणको कार्य सकिएसंगै नयाँ क्रियाशील सदस्यता वितरण गर्न लागिएको नेपाली काँग्रेस कैलालीका जिल्ला सदस्य तथा युवानेता निर्पबहादुर सुनारले जानकारी दिए ।
शनिबार जिल्ला सभापति नरनारायण शाह मनुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।५ बाट नयाँ क्रियाशील सदस्यता फाराम वितरण कार्य प्रारम्भ गरेका हुन् ।प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापति हरिष खड्कालाई जिल्ला सभापति शाहले क्रियाशील सदस्यता फाराम हस्तान्तरण गरे । यसअघि नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले क्रियाशील सदस्यता नवीकरणको कार्यप्रक्रियाको पूरा गरिसकेको छ भने नयाँ वितरणका लागि फागुन २० गते नेपाली काँग्रेस केन्द्रीय क्रियाशील छानबिन समिति संयोजक रमेश लेखकको उपस्थितिमा जिल्ला पदाधिकारी, स्थायी आमन्त्रित सदस्य, पदेन सदस्य, प्रतिनिधि सभारप्रदेशसभाका सांसद, क्षेत्रीय र गाउँ नगर वडासभापति, भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसंग छलफल तथा अनुशिक्षण सम्पन्न गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको गत फागुन ८ गते सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेअनुसार २०७७ चैत १० भित्र जिल्लामा वितरण भएका नयाँ क्रियाशील सदस्यता वितरण गरि सदस्यता प्राप्त गरेको सदस्यताको सूचि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति मार्फत जिल्ला र केन्द्रमा पठाई सक्नुपर्ने प्रावधान रहेको जिल्ला सभापति नरनारायण शाहले बताए ।
नेपाली काँग्रेसको गत फागुन ८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार आउँदो २०७८ भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
पार्टीले विद्यमान रहेका सङ्ख्या बराबर नै नयाँ क्रियाशील सदस्यता वितरण गर्न लागिएको जिल्ला सदस्य निर्पबहादुर सुनारले बताए । यसबर्ष पार्टीले नयाँ युवा, दलित , महिला, जनजाती, पिछडिएका वर्ग समुदायलाई समानुपातिक र समाबेशी सिद्धान्तअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्न मातहत निकायलाई सभापति नारायण शाहले जानकारी तथा प्रष्ट निर्देशन दिएको नेता सुनारले बताए । कैलाली जिल्लामा ८ हजार ७ सय ४६ सदस्य नवीकरणको कार्य सप्पन्न भैसकेको छ भने नयाँ क्रियाशील सदस्यता पनि सोही बमोजिम शतप्रतिशत क्षेत्रीय कार्य समितिलाई उपलब्ध गराइएको छ ।
काँग्रेसले विधान अनुसार पाँच वर्ष महाधिवेशन गर्न नसकेपछि संविधानको धारा २६९ ले दिएको थप ६ महिनाको कार्यकाल थप गरेर भदौमा महाधिवेशन गर्ने निर्णयमा पुगेको थियो । सार्वजनिक नयाँ कार्यतालिका अनुसार समायोजन हुन बाँकी रहेका जिल्लाको अन्तरिम संरचना फागुन १५ गतेभित्र समायोजन भइसक्नु पर्ने उल्लेख छ ।
फागुन २८ गतेभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँको टुंगो लगाइसक्नुपर्नेछ र असार ७ गतेभित्र केन्द्रीय कार्यसमितिले देशभरबाट आएका क्रियाशिल सदस्यताको निर्णय काँग्रेसले यसअघि गरिसके छ ।
पारित नयाँ महाधिवेशन कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन असार २० गते, गाउँरनगरपालिकाको अधिवेशन असार २२, प्रदेशसभा क्षेत्रीय अधिवशेन असार २५, एक मात्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असार २७ गते हुनेछ ।
त्यस्तै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश तहको अधिवेशन साउन ६ गते हुने भने केन्द्रीय महाधिवशेन भदौ ७ गतेदेखि सुरु हुनेछ ।