धनगढी, १८ फागुन/ सुदूरपश्चिम प्रदेशमा विगत २ महिना देखि २ मन्त्रालयमा विभागीय मन्त्री छैनन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विभागीय मन्त्री नियुक्त नहुँदा मुख्यमन्त्री त्रिलोचन भट्टले आफू मातहत राखेका छन् ।
१४ पौषमा भौतिक पूर्वाधार विकास मन्त्री पठन सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले हटाएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुस २२ गते काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिए ।ओली समूहमा रहेको भन्दै भौतिक मन्त्री बोहरालाई हटाएपछि ओली समूहमा रहेका प्रदेश अर्थ मन्त्री बोहराले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री सहित ७ मन्त्रालयको रहेको सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा मात्रै ओली समूहमा थिए । ५३ जनाको प्रदेश सभामा ३९ जना नेकपा, १२ जना काँग्रेस र २ जना राजपाका छन् । नेकपाका ३९ जनामध्ये ओली पक्षमा ८ जना मात्रै खुलेका छन् । सभामुख र उपसभामुख बाहेक प्रचण्ड–नेपाल पक्षमा २८ जनाको बहुमत रहेको त्यो पक्षको दाबी छ । अहिले २८ जना मध्ये केहिले मन्त्री पाउने आश्वासन पाएका छन् ।
आकाक्षंी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको प्रदेश सभा सदस्यहरूको भनाइ छ । खाली रहेका २ मन्त्रालयमा विभागीय मन्त्री थप्दा त्यहाँ नसमेटिएका सांसदहरू ओली समूहमा जाने सङ्केत देखिएपछि मुख्यमन्त्रीले २ महिना देखि मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् ।
‘सबैलाई मन्त्री बन्नु परेको छ यता मन्त्री नबनाए उता जान्छु भन्छन्’ नेपाल दाहाल समूहका एक प्रदेश सभा सदस्यले भने, ‘त्यही समस्याले गर्दा मुख्यमन्त्रीले मन्त्री छान्न सक्नुभएको छैन ।’ अहिले नेपाल दाहाल समूहमा नेताहरू मन्त्री बन्ने कसरतमा जुटेका छन् । अहिले २ मन्त्रालयको लागि झन्डै आधा दर्जन बढी सांसद लबिङमा छन् । ओली समूहले भने मुख्यमन्त्रीलाई निर्णय गर्न नसक्ने व्यक्ति भएको आरोप लगाएको छ । एकातिर प्रदेश सरकारलाई आफ्नो पक्षमा सांसद जोगाउने सकस छ भने अर्कातिर मन्त्रीका आकांक्षीहरूलाई पनि व्यवस्थापन गर्न चुनौती छ ।
तर, मन्त्री पद नपाएपछि केही सांसदहरूले साथ छोड्ने प्रचण्ड–नेपाल पक्षकै भनाइ छ । ‘अहिले मन्त्री बनाउँनु नत्र साथ छोड्छु भन्न थालेका छन्’ प्रचण्ड–नेपाल पक्षमा एक सांसदले भने ‘धेरैले मन्त्री बनाउन बार्गेनिङ गरिरहेका छन् । ’ मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई टुक्राएर पनि भाग पुराउने सोचमा रहेको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीले अहिले मन्त्री थप्ने विषयमा छलफल नभएको बताए । तर, उनले केही दिन भित्रै रिक्त रहेका मन्त्रालयहरूमा मन्त्री थप हुन सक्ने आशय व्यक्त गरे । ‘अहिले त्यस विषयमा छलफल भएको छैन ’ उनले भने ‘तर, केही समय भित्र टुङ्गिन सक्छ ।’