धनगढी, माघ २५/ बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।
प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक डीआईजी सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।
बाखु नेतृत्वको टोलीले घटनाको प्राविधिक विश्लेषणमा सहयोग गर्नेछ । भट्टको मोबाइल प्रहरीले बरामद गरेको छ, त्यसको कल डिटेल लगायतको विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
