अत्तरिया,१५ कार्तिक / सुदूरपश्चिम प्रदेशमा दूध उत्पादन ११.०३ प्रतिशतले वृद्धि भएको छ ।
पशुपन्छीजन्य उत्पादनतर्फ मासु, अण्डा, ऊन तथा माछा उत्पादनमा समेत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा दूध उत्पादन ११.०३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा दूध उत्पादन ३.२८ प्रतिशतले मात्रै बढेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा मासु उत्पादन ६.९१ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये भैँसी तथा राँगाको मासु उत्पादन १.६० प्रतिशत, खसी, बोका तथा भेडाको मासु उत्पादन ५.३० प्रतिशत, सुँगुर तथा बङ्गुरको मासु उत्पादन २६.२२ प्रतिशत र कुखुरा तथा हाँसको मासु उत्पादन २७.०७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
अण्डा उत्पादन २.२४ प्रतिशत, ऊन उत्पादन ५.८० प्रतिशत, छाला उत्पादन ०.८० प्रतिशत र माछा उत्पादन ०.७६ प्रतिशतले वृद्धि भएको छ । जिल्लागत रूपमा दूध उत्पादनमा कैलालीको योगदान सबैभन्दा बढी ४१.४९ प्रतिशत रहेको छ । त्यस्तै मासु उत्पादनमा कैलालीको हिस्सा ४८.२९ प्रतिशत र अण्डा उत्पादनमा ५२.११ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार प्रदेशमा मुख्यमन्त्री बाख्रापालन कार्यक्रम, व्यावसायिक कुखुरापालन कार्यक्रम, कृषि व्यवसायमा युवाको आकर्षण तथा पशुपालन क्षेत्रमा बीमा र अनुदानका कार्यक्रमले पशुजन्य उत्पादन वृद्धिमा सहयोग पु¥याएको देखिन्छ ।
सुदूरपश्चिम प्रदेशमा प्रमुख कृषि बालीको उत्पादन वृद्धि भने निकै न्यून देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा खाद्यान्न, तरकारी, फलफूल तथा मसला लगायतका प्रमुख कृषि बालीको उत्पादन ०.८२ प्रतिशतले मात्रै वृद्धि भएको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन २.९३ प्रतिशतले बढेको थियो । तर चालु आर्थिक वर्षमा उत्पादन वृद्धिदर घटेर ०.८२ प्रतिशतमा सीमित भएको हो ।
प्रतिवेदनअनुसार खाद्य तथा अन्य बालीको उत्पादन ०.७४ प्रतिशतले बढेको छ । दलहन उत्पादन ११.८६ प्रतिशत, तेलहन ९.५२ प्रतिशत, भटमास ९.५२ प्रतिशत, आलु ७.०१ प्रतिशत र उखु उत्पादन ४.०३ प्रतिशतले वृद्धि भएको छ । तर फापरको उत्पादन ६३.२४ प्रतिशत, जौको ३२.०१ प्रतिशत, मकैको ८.५४ प्रतिशत, गहुँको १.४१ प्रतिशत र धानको उत्पादन १.१२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लागत रूपमा खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुरको योगदान सबैभन्दा बढी ३८.३८ प्रतिशत रहेको छ । तरकारी तथा बागवानी उत्पादनमा कैलालीको योगदान ३९.६६ प्रतिशत र फलफूल तथा मसलाजन्य बाली उत्पादनमा कैलालीको योगदान ४३.०१ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार तरकारी तथा बागवानी उत्पादन समग्रमा ०.९१ प्रतिशतले बढेको छ । फलफूल तथा मसलाजन्य बालीको उत्पादन भने १.३० प्रतिशतले वृद्धि भएको छ । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण बढे पनि जलवायु परिवर्तन, बाढी, पहिरो, खडेरी तथा अन्य प्राकृतिक जोखिमले उत्पादनमा चुनौती थपिरहेको प्रतिवेदनले औँल्याएको छ ।
यसैबिच प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२÷८३ मा ३.२८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको आर्थिक वृद्धिदर ३.२१ प्रतिशत रहेको संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ०.०७ प्रतिशत विन्दुले बढ्ने अनुमान गरिएको हो ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ६३ अर्ब ८९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ७.०३ प्रतिशत हो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान सबैभन्दा बढी ३३.४३ प्रतिशत रहने अनुमान छ । त्यसैगरी थोक तथा खुद्रा व्यापार, यातायात तथा आवाससम्बन्धी सेवाको योगदान पनि महत्वपूर्ण रहेको छ ।
क्षेत्रगत रूपमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३३.६५ प्रतिशत, द्वितीय क्षेत्रको १३.६९ प्रतिशत र तृतीय क्षेत्रको ५२.६६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रतिवेदनले सुदूरपश्चिमको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको र सेवा क्षेत्रको योगदान बढ्दै गएको देखाएको छ ।