धनगढी ९ माघ/ प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले निर्वाचन अभियान सञ्चालनका लागि विभिन्न समिति गठन गरेको छ । निर्वाचन परिचालनको समग्र जिम्मेवारी नारायण दत्त भट्टको संयोजकत्वमा गठन गरिएको परिचालन मूल समितिलाई दिइएको छ ।
उक्त समितिमा जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, भातृ एवं शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरू, साथै पार्टीका पूर्व सभापति दीर्घराज भाट र पूर्व सभापति गोविन्दराज जोशी सदस्यका रूपमा रहनेछन् ।
त्यसैगरी निर्वाचन अभियानको अनुगमन तथा मूल्यांकनका लागि खेमराज डगौरा थारुको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा दुई जना सदस्य सचिव, दुई जना सहसचिव, एक जना कोषाध्यक्ष तथा प्रकाश बम सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ । यस समितिले निर्वाचन अभियानको प्रगति, व्यवस्थापन र अनुशासनको निगरानी गर्ने जिम्मेवारी पाउनेछ ।
निर्वाचनका क्रममा पार्टीका गतिविधि, सन्देश र उम्मेदवारका कार्यक्रमलाई प्रभावकारी रूपमा जनतामाझ पु¥याउने उद्देश्यले केशबराज मिश्रको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ । उक्त समितिको सदस्य सचिवका रूपमा पार्टी प्रवक्ता तपेन्द्र भुसाल रहेका छन् भने ओमजंग सिंह तथा प्रेस युनियनका केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरू समितिका सदस्य रहनेछन् । यस समितिले सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा जनसम्पर्कका माध्यमबाट निर्वाचन अभियानलाई सशक्त बनाउने भूमिका निर्वाह गर्नेछ ।
पाँचै निर्वाचन क्षेत्रमा खटाइए पदाधिकारी
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले क्षेत्रगत रूपमा पदाधिकारी खटाएको छ । पार्टीले निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कलेशुराम चौधरी, क्षेत्र नम्बर २ मा देवकी कार्की, क्षेत्र नम्बर ३ मा खेमराज जोशी, क्षेत्र नम्बर ४ मा खेमराज जोशी तथा क्षेत्र नम्बर ५ मा केशबराज मिश्रलाई जिम्मेवारी दिएको छ । खटाइएका पदाधिकारीहरूलाई आ–आफ्ना क्षेत्रमा संगठन परिचालन, कार्यकर्ता व्यवस्थापन तथा उम्मेदवारको पक्षमा चुनावी वातावरण निर्माण गर्ने जिम्मेवारी तोकिएको छ ।