धनगढी, २३ मंसिर / नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्दै पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई पहिलो प्राथमिकतामा राखेको छ। पार्टीभित्रको गुट–अन्तरगुटलाई समेट्दै गरिएको यो निर्णयले क्षेत्र नम्बर ५ मा राणाको राजनीतिक प्रभाव, जनसम्पर्क र राष्ट्रिय स्तरको भूमिकालाई पुनः बलियो संकेत गरेको विश्लेषकहरूले बताइरहेका छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी मात्र नभई सक्रिय महिला नेतृका रूपमा पहिचान बनाउँदै आएका राणा विगतमा परराष्ट्रमन्त्री रहँदा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने अभियानमा सक्रिय रहिन्। उनले दशकौँदेखि सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निभाउँदै आएको समितिले उल्लेख गरेको छ।
प्रतिनिधिसभा तर्फ राणा देउवासहित प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, निबर्तमान सांसद डिल्लीराज पन्त र केन्द्रीय सदस्य नृपबहादुर वडको नाम सिफारिस गरिएका छन्। चारै नेताको भूमिकालाई मुल्यांकन गरेर एकमत सिफारिस गरिएको क्षेत्रीय नेतृत्वले जनाएको छ।
समानुपातिक तर्फ केन्द्रीय सदस्य जीवन राना र सुशीला मिश्र भट्टका साथै गौरीकुमारी लामा, मनिराम देवल, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृति बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम सिफारिस सूचीमा परेका छन्।
राष्ट्रियसभा सदस्यका लागि भने रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम समावेश गरिएको छ।
क्षेत्रीय समितिबाट सिफारिस भएका नामहरू केन्द्रीय समितिमा पठाइने छन् र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहले गर्नेछ।