धनगढी । कैलालीको चुरे गाउँपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ विविध कार्यक्रमका साथ मनाइएको छ। चुरे गाउँपालिकाको आयोजनामा फाया नेपाल लगायत विभिन्न निकायको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्वयंसेविकाहरूको निस्वार्थ सेवाप्रति सम्मान व्यक्त गर्दै न्यानो कपडा वितरण पनि गरिएको थियो।
“स्वास्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा अध्यक्ष चक्र बोगटी, उपाध्यक्ष धना थापा, वडा नं. ६ का अध्यक्ष प्रेम साउद, फाया नेपालकी अध्यक्ष गोमा आचार्य, पालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविका सञ्चालिका प्रमुख तिलसरी थापा तथा वडा नं.१, ३, ५ र ६ का स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
भौगोलिक रूपमा विकट रहेको चुरे क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन फाया नेपाल निरन्तर सक्रिय रहेको फाया नेपालकी अध्यक्ष गोमा आचार्यले बताइन्। उनले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा समेत आफ्नो संस्था संलग्न रहेको बताउदैँ महिलामाथि हुने हिंसाका स्वरूप समयसँगै परिवर्तन भैरहेको बताइन्।
स्वास्थ्य सूचक सुधारमा स्वयंसेविकाको भूमिकालाई महत्वपूर्ण भएको भन्दै घर–घरमा पुगेर स्वास्थ्य सेवा विस्तार गर्न स्वयंसेविकाहरूले ठूलो योगदान पुर्याउँदै आएको वडा नं.६ का अध्यक्ष प्रेम साउदले बताए।
निस्वार्थ सेवामा सक्रिय रहेकाहरूको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको भन्दै दुर्गम भेगमा सेवा पु(याइरहेका स्वयंसेविकाहरूको मेहनत अविस्मरणीय रहने उपाध्यक्ष धना थापाले बताइन्।
यस्तै, पालिका अध्यक्ष चक्र बोगटीले सेवानिवृत्त भएर जाने स्वयंसेविकाहरूका लागि ‘स्वयंसेविका कोष’ निर्माण गरिने घोषणा गरेका छन् । उनले भने “अब कसैलाई खाली हात बिदा हुनुपर्दैन, एकदेखि डेढ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था गराउने छौ,”। उनले अहिलेसम्म स्वयंसेविकाको योगदानको उचित मूल्यांकन हुन नसकेको स्वीकार्दै आगामी दिनमा उनीहरूका लागि आवश्यक सुविधा सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
आफूहरू विना पारिश्रमिक घरधन्दा छाडेर सेवा गरिरहेको बताउदै यातायात र प्राविधिक सहयोगको अभाव अझै ठूलो चुनौती रहेको पालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविका सञ्चालिका प्रमुख तिलसरी थापाले बताइन्।
