धनगढी । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको चुरे गाउँपालिकामा यो बर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकि, यस वर्ष उनीहरूले सोचेअनुसारको उत्पादन भएन ।
गत वर्ष सुन्तला उत्पादनबाट लाखौ भित्र्याएका कृषकले यस वर्ष झन्डै आधा भन्दा बढी घाटा व्यहोर्नुपरेको छ । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने, असिना पर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा गिरावट आएको कृषकहरु बताउछन् । सुन्तलाको फुल फुल्ने समयमा असिना परेका कारण विशेषगरी चुरे–२ कड्किरी, सुवाखान र बसन्तपुर क्षेत्रका बगैचामा फल टिप्ने समयमा अपेक्षित उत्पादन प्राप्त नभएको किसानहरूको गुनासो छ।
कड्किरीका किसान हुकुम बोहोरा गत वर्षको तुलनामा यस वर्ष बोटमै राम्रो फुल नलाग्नु र फल लागेको सुन्तलामा पनि रोगले र असिनाले असर पर्नु मुख्य कारण बनेको बताउछन् । “बोटहरूले पहिले जस्तै फल दिन सकेनन्। फल लागेकामध्ये धेरैजसो झरे,” बोहोरा भन्छन्, “ गत बर्ष २८ क्विन्टल सुन्तला बचेको थिए । तर यो बर्ष ९ क्विन्टल मात्रै उत्पादन भयो ।”
सुवाखानका किसान नरबहादुर साउदले पनि उत्पादन घट्नुको कारण मौसममै समस्या देखिएको भन्छन्। उनका अनुसार असिनापानी, अनियमित वर्षा तथा गर्मी–जाडोको उतारचढावले बगैचामा ठूलो प्रभाव पारेको छ। “गत वर्ष जति बाक्लो फल थियो, यो वर्ष आधा पनि भएन,” उनले बताए, “समयमै पानी नपर्नु र गर्मी बढ्नुले उत्पादन कम भयो ।”
त्यसैगरी बसन्तपुरका प्रेम साउदको बगैचामा पनि सुन्तलाको उत्पादन घटेको छ। उनले रोग–कीराको प्रकोप बढेको बताउँदै थपे, “सुन्तलामा पहेंलोपाना, फुल झर्ने र किरा लाग्ने समस्या धेरै भयो। खर्च झन् बढ्यो तर उत्पादन भने कम भयो।”
सुन्तला पकेट क्षेत्रमै सुन्तला उत्पादनमा आएको गिरावटले यहाँको कृषि आम्दानीमा प्रत्यक्ष असर परेको छ । चुरे गाउँपालिका–२ का किसानहरू वर्षैपिच्छे सुन्तला खेतीलाई भरपर्दो आम्दानीको स्रोत मान्दै आएका छन्। तर निरन्तर मौसम परिवर्तन, मल–औषधिको अभाव र रोग–कीराको समस्या समाधान नभए आगामी वर्षहरूमा उत्पादन झनै घट्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।
