धनगढी । चुरे गाउँपालिकाले — ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। चुरे गाउँपालिकाको आयोजनामा इन्टरनेसनल नेपाल फेलोसिपको सहयोगमा सहजपुरमा कार्यक्रम सम्पन्न भएको हो। अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मुल नाराका साथ बुधबार चुरे गाउँपालिकाले दिवस मनाईएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्र बोगटी, उपाध्यक्ष धना थापा, वडा नं ३ का अध्यक्ष खगेन्द्र बहादुर खडायत, इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख किशोर जोशी, सहजपुर स्वास्थ्य चौकी प्रमुख, शिक्षा शाखा संयोजक मदनराज जोशी, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्तसहित अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो।
महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्तले अपाङ्गता परिचयपत्र जुनसुकै वर्गको भए पनि परिचय पत्र बनाउन आग्रह गर्दै परिचयपत्रको उचित प्रयोग र अपाङ्ग व्यक्तिप्रति सम्मानजनक व्यवहार आवश्यक रहेको बताइन्। कार्यक्रममार्फत अपाङ्ग व्यक्तिहरूका समस्या सुनी समाधानका उपाय खोजिने पनि उनले बताइन्।
अन्तरक्रिया कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले समाजमा हेला, गालीगलौज, दुर्व्यवहार, बहिष्कारजस्ता कारणले दैनिक जीवनमा ठुलो कठिनाइ हुने गरेको गुनासो राखेका थिए।
भौगोलिक कठिनाइ र पारिवारिक अवस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरू थप समस्यामा पर्ने गरेको अपाङ्गता समन्वय समितिका सदस्य लोकबहादुर पौडेलले बताए। पालिकाले सिपमूलक तालिम तथा रोजगारीका अवसर उपलब्ध गराए सहज हुने बताए ।
अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर सेवा उपलब्ध गराउने तथा घरदैलोमै गएर सहयोग पुर्याउने इलाका प्रहरी कार्यालयका प्रमुख किशोर जोशीले बताए ।
भौगोलिक दूरीका कारण सबै अपाङ्गता भएका व्यक्तिलाई कार्यक्रममा सहभागी गराउन कठिनाइ हुने गरेको
वडा अध्यक्ष खगेन्द्र बहादुर खडायतले बताए। अपाङ्गता भएका व्यक्तिहरूका लागि बाख्रा वितरणमार्फत सहयोग गरिएको बताउँदै समूह नहुँदा कार्यक्रम तथा तालिम सञ्चालनमा चुनौती रहेको उनले बताए ।
भत्ता नपाउनेले अपाङ्गता परिचयपत्र नलिने प्रवृत्ति देखिएको गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले बताए । आगामी दिनमा यस्ता कार्यक्रममा सहभागी गराउन अपाङ्गता भएका व्यक्तिहरूलाई आवत–जावत खर्च उपलब्ध गराउने उनले बताए । साथै घरमै गएर समस्या समाधान गर्न पालिका प्रतिबद्ध रहेको बताए। सङ्गठन नहुँदा तालिम दिन नसकिएको र इच्छुकलाई सहयोग गर्ने आश्वासन पनि दिएका थिए । उपाध्यक्ष धना थापाले विगतमा पनि तालिमको व्यवस्था गरिएको बताउँदै वडा तथा पालिका स्तरबाट निरन्तर सहयोग गरिने बताइन्।