धनगढी, १७ मंसिर / अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नारासहित धनगढीमा बहुपक्षीय अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा शिक्षा, समावेशिता, विपद व्यवस्थापन र अपाङ्गता मानव अधिकार जस्ता महत्वपूर्ण विषयमा बहुपक्षीय अन्तरक्रिया तथा छलफल गरिएको थियो।
अपाङ्गता दिवसको अवसरमा १४ गते देखि १७ गते सम्म विभिन्न प्रतियोगिता गरेको कार्यक्रम संयोजक नन्दराज भट्टले जानकारी दिए । आज औपचारिक कार्यक्रममा प्रतियोगिताका विजेताहरुलाई पुरस्कार सहित सम्मान पत्र वितरण गरिएको थियो।
यस्तै, यसै कार्यक्रममा तीन जना सञ्चारकर्मी पनि सम्मानित भएका छन्। नेपाल टेलिभिजनका धनगढी संवाददाता तथा स्टेट सेभेनकर्मी दिनेश बिष्ट , सुदूरपश्चिम टाइम्सका सञ्चालक रमेश ऐडी र बी प्लस मिडियाकर्मी सुरज राना धनगढीमा आयोजित अपाङ्ग दिवसको अवसरमा सम्मानित भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभाका संसद तथा सामाजिक विकास समितिका सदस्य धर्मराज पाठकले उक्त कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवन, सबै क्षेत्रमा पहुँच, समावेशी शिक्षा र विपदमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न राज्य, समुदाय र संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। आफुले पटक पटक आवाज उठाए पनि नीतिगत रुपमा अगाडि नबढेको उनको भनाइ रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगी संघ संस्थाहरुलाई कार्यक्रम संयोजक नन्दराज भट्टले धन्यवाद ज्ञापन गरेका थिए।