धनगढी, १७ मंसिर \ कैलालीको अत्तरियामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । बुधवार गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जालले दिवसका अवसरमा प्रभात फेरी कार्यक्रम, सरसफाइ कार्यक्रम, औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो ।
दिवसको अवसरमा बिहान सञ्जालले अत्तरियामा रहेको सुप समावेशी विद्यालयको प्राङ्गणदेखि अत्तरिया चोक परिक्रमा गरेर प्रभात फेरी आयोजना गरेको थियो । प्रभात फेरी कार्यक्रममा ‘अपाङ्गता भएका व्यक्ति माथि हुने विभेद अन्त्य गर, अपाङ्गता भएका व्यक्तिको समान सहभागिता कायम गर, अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर, अपाङ्ग मैत्री संरचना निर्माण गर लगायतका नारा लेखिएका ब्यानर बोकेका थिए ।
प्रभात फेरी कार्यक्रम अत्तरिया बसपार्कमा पुगेर सरसफाइ कार्यक्रममा परिणत भएको थियो । अपाङ्गता भएका व्यक्तिले पनि अरू सरह सामाजिक काममा योगदान दिन सक्छन् भन्ने सन्देश दिन सरसफाइ कार्यक्रम गरिएको सञ्जालका नगर अध्यक्ष लक्ष्मण विकले बताए ।
दिवसको अवसरमा सुप समावेशी स्कुलमा औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । प्रदेश सांसद तुलसी देवकोटाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा अपाङ्गता भएकाहरूको हक अधिकारका सवालमा बहस गरिनुका साथै अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने ४ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सु।प।प्रदेशका नि वर्तमान अध्यक्ष, गोदावरी नगरपालिका – २ का वडा सदस्य डबल साउँद, पुस्पा रोकाया र सुप समावेशी स्कुल रहेका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पुर्वसन्ध्यामा आयोजना गरिएको २ सय मिटर ह्विलचियर दौड, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला कार्यक्रमका विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका थिए । दिवसकै पुर्वसन्ध्यामा सञ्जालले मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरेको थियो ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइँदै आएको छ । यस वर्ष ‘अपाङ्गता भएका व्यक्तिहरूको ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनस् सामाजिक उन्नतिको संवर्द्धन’ मूल नारासहित सो दिवस मनाइएको छ ।