धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् ।
आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । सामाजिक विकास कोषको समन्वयमा आयोेजित कार्यक्रममा राज्यमन्त्री खड्काले प्रदेशमा पनि यसका कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।
मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले पछाडि परेका वर्गलाई सामाजिक सुरक्षा कोषको पहुँचमा ल्याउन मन्त्रालय मातहतका कार्यालयमार्फत कामहरु भइरहेको बताए। प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाका लागि मन्त्रालयमै कोठा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नभएसम्म श्रम स्वीकृति नपाउने व्यवस्था भएपछि मात्र वैदेशिक रोजगारमा जानेहरु कोषमा सूचीकृत हुन थालेको सुरक्षित आप्रावासनका पञ्चराम चौधरीले बताए। उहाँले सामाजिक सुरक्षा कोषमा सूचीकरण बढाउन स्थानीय तहसम्म पुग्न आवश्यक रहेको चर्चा गरे ।
त्यस्तै, युनिसेफका प्रकाश आचार्यले औपचारिक क्षेत्रकै श्रमिकसमेत कोषमा आवद्ध नरहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा सचेतना फैलाउन जरुरी रहेको बताए । सुदूरपश्चिमको ७० प्रतिशत श्रमिक भारतमा काम गर्ने गरेको भन्दै उहाँले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नु पर्ने उल्लेख गरे ।
सामाजिक सुरक्षा कोषमा हालसम्म नेपालका २६ लाख ३७ हजार श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । सो कार्यालयका अनुसार औपचारिक श्रमिक ६ लाख १९ हजार, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ श्रमिक कोषमा सूचीकृत भएका छन् । अनौपचारिक र स्वरोजगार क्षेत्रका जम्मा एक हजार ३८१ व्यक्ति कोषमा सूचीकृत भएका छन् ।
सामाजिक सुरक्षा कोषमा संस्थाको सूचीकरण २२ हजार ३३२ पुगेको जनाइएको छ । कोषको पोर्टफोलियो एक खर्ब २५ अर्ब रहेको सामाजिक विकास कोषका जयकृष्ण दुलालले जानकारी दिए।