धनगढी, ८ मंसिर / काठमाण्डौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को मोवाइल संस्करण ‘घुम्ती किम्फ’ सुदूरपश्चिमबाट औपचारिक रूपमा सुरू गरिएको छ। सोमबार कैलाली बहुमुखी क्याम्पसको मेगा हलमा क्याम्पस प्रमुख सह–प्राध्यापक डा। लोक बहादुर बिष्ट र किम्फ फाउन्डेशनकी अध्यक्ष रामयता लिम्वुले संयुक्त रूपमा महोत्सव उद्घाटन गरे।
उद्घाटन समारोहपछि सुदूरपश्चिम र कर्णालीमा प्रचलित छाउपडी प्रथामा आधारित वृत्तचित्र ‘छउ’ को प्रदर्शनीसहित घुम्ती किम्फको यात्रा आरम्भ भएको आयोजक संस्थाले जानकारी दिएको छ।
अध्यक्ष लिम्वुले महोत्सवको उद्देश्य चलचित्र मात्र प्रदर्शन गर्ने नभई समाजमा विद्यमान संवेदनशील मुद्दामा बहस गर्ने, पैरवीका अवसर सिर्जना गर्ने र स्थानीय आवाजलाई राष्ट्रिय बहसमा जोड्ने रहेको बताइन्।
“काठमाडौंबाहिर रहेका समुदायका विषयवस्तु राष्ट्रिय मञ्चमा ल्याउन हामी सुदूरपश्चिमको यात्रामा निस्किएका हौं,” उनले भनिन्।
क्याम्पस प्रमुख बिष्टले चलचित्र र वृत्तचित्र समाजका यथार्थ कथा र घटनालाई फराकिलो भूगोलमा पुर्याउने प्रभावकारी माध्यम भएकाले घुम्ती किम्फले स्थानीय मुद्दा उठानमा महत्वपूर्ण योगदान दिइरहेको टिप्पणी गरे।
यो संस्करण कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाम गरी चार जिल्लामा सञ्चालन हुनेछ। पहिलो दिन धनगढीमा क्याम्पस र विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ।
मंसिर ८ देखि १९ गतेसम्म चल्ने महोत्सवमा सामाजिक विषयवस्तुमा आधारित छोटो चलचित्र र वृत्तचित्र प्रदर्शनका साथै कार्यशाला, बहस र छलफलका सत्रहरू सञ्चालन गरिनेछन्।
यस संस्करणलाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग thematic रूपमा संयोजन गरिएको र यसले युवा, फिल्मकर्मी तथा समुदायबीच सामाजिक चेतना अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।