धनगढी । धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट उल्लेखनीय आम्दानी लिन थालेकी छन्। फार्म दर्ता गरेर दुई वर्षअघि व्यावसायिक रूपमा प्रवेश गरेकी विष्ट अहिले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्छिन्।
विष्टका अनुसार फूल बिक्रीबाट वार्षिक करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। सबै खर्च कटाएर आठ लाख रुपैयाँसम्म बचत हुने उनले बताइन्। “बाह्रै महिना फूल उत्पादन हुन्छ। यस वर्ष केवल दसैँ–तिहारका बेला मात्रै करिब १० लाख रुपैयाँको कारोबार भयो,” उनले भनिन्।
फूलको मूल्य सिजनअनुसार फरक पर्ने बताउँदै उनले प्रतिकिलो १५० देखि ५०० रुपैयाँ र प्रतिमाला ६० देखि १०० रुपैयाँ सम्ममा बिक्री हुने जानकारी दिइन्। “चार जनाको परिवार छ, यही आम्दानीले घरखर्च सहजै चल्छ, बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनेकी छु,” विष्टले भनिन्।
धनगढी उपमहानगरपालिकाले दिएको एकहप्ते तालिमपछि उनी व्यावसायिक रूपमा यस क्षेत्रमा लागेको बताउँछिन्। उनको फार्ममा आठ जनालाई प्रतिदिन ६०० रुपैयाँ ज्यालादरमा रोजगारी मिलेको छ।
उपकरण र प्रविधिमा भने उनले केही चुनौती रहेको बताउँछिन्। “फूलको बीउ र मलखाद पाउन कठिन हुन्छ,” उनले भनिन्। तर कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लास्टिक टनेल, बोरिङ, थोपा सिँचाइ जस्ता सुविधामा अनुदान पाएको पनि उनले उल्लेख गरिन्। फूलखेतीका लागि बीमा व्यवस्था नहुँदा जोखिम बढ्ने भएकाले बीमा पोलिसी उपलब्ध गराउन माग पनि उनले राखेकी छन्।