धनगढी, २४ कार्तिक / बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरेको आज १ महिना पुरा भएको छ। गत असोज २४ गते सुचनाको माग सँगै अन्य विभिन्न माग सहित युवाहरुले तालाबन्दी गरेका थिए।
गाउँपालिकाले तालाबन्दी भएको १ महिना पुगिसक्दा समेत माग पुरा गर्न नसक्दा सेवाग्राही भने मारमा परेका छन्। तालाबन्दी गर्ने समुह र गाउँपालिका सरकारले पटक पटक वार्तामा वस्दा समेत सहमति नभएको जेन जी समूहका अगुवा विशाल भट्टले जानकारी दिए।
गाउँपालिका सरकारले पटक पटक सहमतिको लागि वार्ता बोलाए पनि तालाबन्दी गर्ने समूहका सबै मागलाई सम्बोधन गर्न नसक्दा तालाबन्दी खुल्न नसकेको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए। उनले करारका सबै कर्मचारीलाई हटाउन सकिने अवस्था नरहेको बताए। कर्मचारी हटाउदा कामकाज नै ठप्प हुने भएकाले सबैले बुझ्नुपर्ने बताए।
यता तालाबन्दी गर्ने समूहले भने कार्यपालिकाका आफैं विभाजित भएको र माग पुरा गर्न नीतिगत रुपमा अगाडि नबढेको आरोप लगाएको छ ।