धनगढी । कञ्चनपुरको लालझाँडी गाउँपालिका स्थानीय तहहरूको स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनको आधारमा कञ्चनपुरमा उत्कृष्ट पालिका घोषणा भएको छ। जिल्ला भित्र रहेका नौ वटा पालिकाको कार्यसम्पादन मूल्याङ्कनको आधारमा लालझाडीलाई उत्कृष्ट पालिका घोषणा गरिएको हो। सो सूचकांकमा बेलडाँडी गाउँपालिका दोस्रो र बेदकोट नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। आर्थिक वर्ष २०८१र०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको अवसरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका पालिकाहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ।
विभिन्न ३६ सूचकाङ्कको मूल्याङ्कलनका आधारमा लालझाँडी गाउँपालिकाले ९१ अङ्क प्राप्त गरेको थियो। यसैगरी, बेलडाँडी गाउँपालिकाले ८३।५ अङ्क र बेदकोट नगरपालिकाले ८२ अङ्क प्राप्त गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक वर्ष २०८१र०८२ मा सम्पादित कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मूल्याङ्कनबाट उत्कृष्ट पालिका घोषणा गरिएको हो।
प्रथम स्थान हासिल गर्न सफल लालझाडी गाउँपालिकाले आगामी वर्षमा पनि दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अझ प्रभावकारी ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाएको छ।