धनगढी, २४ असोज / कैलालीको भजनी नगरपालिकाले मुक्त कमैयालाई परिचयपत्र वितरण गरेको छ । आफ्नो पालिकाभित्रका मुक्त कमैया कमलरी तथा हलिया पुनर्स्थापना कार्यविधि अनुसार सो पालिकाले छुटमा परेका मुक्त कमैयालाई परिचयपत्र वितरण गरेको हो ।
२०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणापछि नेपाल सरकारले परिचयपत्र वितरण गरेर मुक्त कमैयाको पुनर्स्थापना अगाडि बढाएको थियो । उतिबेला परिचयपत्र पाउन छुटेका मुक्त कमैया हालसम्म परिचयपत्रविहीन छन् ।
परिचयपत्र पाउनबाट वञ्चित आफ्नो पालिकाका मुक्त कमैयालाई २६ वर्षपछि परिचयपत्र दिएर भजनी नगरपालिकाले उदाहरणीय कार्य गरेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए। उनले २६ वर्षपछि परिचयपत्र पाउँदा छुट मुक्त कमैया निकै खुसी भएको र यो मुलुककै लागि एउटा नमुना कार्य भएको उल्लेख गरेका छन् ।
भजनी नगरपालिकामा करिब एक हजार चार सय परिवार मुक्त कमैया रहेकोमा आधाभन्दा बढीले पहिले नै परिचयपत्र पाएका छन् । परिचयपत्र पाएकाको पुनर्स्थापना भइसकेको छ । ७०७ परिवार भने २६ वर्षदेखि परिचयपत्रविहीन रहेको नगरपालिकाले जनाएको छ । परिचयपत्रविहीनमध्ये १ देखि ९ वडासम्मकै ६० परिवारलाई परिचयपत्र वितरण गरिएको प्राविधिक शाखाका इन्जिनियर अजय डगौराले जानकारी दिए ।
भजनीको मधुवन, सिर्जना बस्ती, गौनहिया, मिलन बस्तीलगायतका बस्तीमा मुक्त कमैयाको बसोबास रहेको छ । प्रदेश सरकारले कार्यविधि बनाइसकेपछि जिल्लाका अन्य पालिकाले पनि कार्यविधि बनाएर मुक्त कमैयालाई पहिचान दिने जनाइएको छ ।