धनगढी, २० पुस/नेपाल निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ। प्रदेशका ९ वटा जिल्लाका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूमा न्याय सेवा तथा जिल्ला न्यायाधीशहरूलाई यो जिम्मेवारी दिएको छ ।
आयोगले सार्वजनिक गरेको नामावली अनुसार, कैलाली जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्रहरू छन्, जहाँ विभिन्न अधिकृतहरूलाई नियुक्त गरिएको छ। अन्य जिल्लाहरूमा पनि मुख्य निर्वाचन अधिकृतहरू तोकिएका छन्। यो नियुक्तिसँगै निर्वाचन तयारीलाई तीव्रता दिइएको छ।
कैलाली जिल्लाको कैलाली क्षेत्र नम्बर १मा देवकुमार श्रेष्ठ, कैलाली क्षेत्र नम्बर २मा पुष्करराज प्रसाईं, कैलाली क्षेत्र नम्बर ३मा पुष्करराज प्रसाईं, कैलाली क्षेत्र नम्बर ४मा हरिहरनाथ आचार्य, र कैलाली क्षेत्र नम्बर ५मा सन्तोष खनाल लाई जिम्मेबारी तोकिएको छ । खनललाई मुख्य निर्वाचन अधिकृत समेत जिम्मेबारी दिएको छ ।
त्यसैगरी कञ्चनपुर क्षेत्र नम्बर १मा प्रशान्तकुमार भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर २मा प्रकाशबहादुर भण्डारी र कञ्चनपुर ३मा राजेन्द्रबहादुर भण्डारीलाई जिम्मेबारी दिएको छ । राजेन्द्र भण्डारीलाई मुख्य निर्वाचन अधिकृत जिम्मेबारी समेत दिएको हो ।
अछामको क्षेत्र नम्बर १मा भोलाराज रेग्मी र क्षेत्र नम्बर २मा शंकरकुमार भण्डारीलाई जिम्मेबारी तोकेको छ । भण्डारीलाई मुख्य निर्वाचन अधिकृतको समेत जिम्मेबारी दिएको छ ।
डडेलधुरामा कमल गिरी, डोटीमा श्यामराज पाण्डे, बझाङमा मधुसूदन काफ्ले, बाजुरामा सञ्जीव पोखरेल, बैतडीमा तिर्थराज भट्ट र दार्चुलामा मदन गिरीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन आयोगका अनुसार, यी नियुक्त अधिकृतहरूले आफ्ना निर्वाचन क्षेत्रहरूमा कार्यालय स्थापना गरी मतदाता नामावली व्यवस्थापन, उम्मेदवार दर्ता, निर्वाचन सामग्री वितरण तथा मतगणनासम्बन्धी सबै कार्यहरूको समन्वय गर्ने बताईएको छ ।
आयोगले अनुभवी तथा सक्षम न्यायिक र प्रशासनिक जनशक्तिलाई जिम्मेवारी दिँदै सुदूरपश्चिमसहित देशभरि निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न तयारीलाई तीव्र गतिमा अघि बढाएको बताएको छ।