धनगढी, २१ मंसिर / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार बैतडीमा सम्पन्न आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा गम्भीर असन्तुष्टि सार्वजनिक भएको छ।
केन्द्रीय परिपत्र बमोजिम आज सम्पन्न भएको प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस बैठकमा सहभागी ८२ जनामध्ये ७३ जनाले मतदान गरेका थिए। ती सबै ७३ मत चतुरबहादुर चन्दले प्राप्त गरेको भन्दै उनले मतदानमा सहभागी सबैप्रति आभार प्रकट गरेका छन्। चन्दले “सबै ७३ साथीद्वारा व्यक्त गरिएको माया र अभिमतप्रति हार्दिक धन्यवाद” जनाउँदै जय नेपाल भनेका छन्।
तर यता बैठकमै सहभागी असन्तुष्ट समूहले भने प्रक्रिया नै गलत ढंगले अघि बढाइएको आरोप लगाउँदै औपचारिक रूपमा विरोधपत्र जारी गरेको छ। उनीहरूको आरोप अनुसार छलफलमार्फत सहमति खोजिने पुरानो परम्परालाई बेवास्ता गर्दै सभापति पक्षले “एकाएक निर्वाचनको प्रपञ्च” गरेको छ, जुन पार्टी हित विपरीत रहेको दाबी गरिएको छ।
असन्तुष्ट समूहले जारी गरेको पत्रमा उल्लेख छ :-
“लोकतन्त्र र संगठन मजबुत बनाउन सहमति आवश्यक हुँदाहुँदै अचानक निर्वाचनमा लैजान खोजिनु परम्परा विपरीत र हचुवाको निर्णय हो। पुनः सहमतिको मार्गबाटै नामावली टुंग्याउन अपिल गर्दछौं।”
असन्तुष्ट समूहले हस्ताक्षरसहित आफ्नो नामावली पनि सार्वजनिक गरेको छ, जसमा नरबहादुर चन्द, उत्तरबहादुर, विरबहादुर विष्ट , तेजबहादुर चन्द र नन्दराज भट्ट रहेका छन्।
उनीहरूले एकतर्फी रूपमा गरिएको निर्णय र प्रक्रियाप्रति घोर विरोध जनाउँदै पार्टी नेतृत्वलाई पुनः संवाद र सहमतिको बाटोमा फर्किन आग्रह गरेका छन्।
नेपाली कांग्रेस बैतडीको आन्तरिक मतभेद सार्वजनिक हुँदै गएपछि सिफारिस प्रक्रियाको विश्वसनीयता र आगामी निर्वाचन तयारीमा यसको प्रभावबारे जिल्लामा चासो बढेको छ।
