धनगढी, २० मंसिर / नेपाली कांग्रेस बाजुराको राजनीतिमा जुझारु र भरोसामन्द युवा नेताका रुपमा परिचित वीरेन्द्र गिरी नेपाली कांग्रेस बाजुरा काठमाडौँ सम्पर्क समितिको सभापतिमा चयन भएका छन्। विद्यार्थी राजनीतिदेखि पार्टीको मूलधारसम्म सक्रिय भूमिका निभाउँदै आएका गिरीले संगठनभित्र लोकप्रिय र परिणाममुखी नेताका रुपमा पहिचान बनाइ सकेका छन्।
गिरीको राजनीतिक यात्रा २०६३ सालमा त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सदस्यतासँगै सुरु भएको थियो। २०६७ सालमा उनले सुदूरपश्चिम विद्यार्थी समाजको अध्यक्षको जिम्मेवारी सम्हाले र विद्यार्थी हितका गतिविधिमा उल्लेखनीय सक्रियता देखाए। २०६८ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेपछि उनको भूमिकामा थप विस्तार आयो।
त्रिचन्द्र क्याम्पसमा उनी क्रमशः इकाइ सदस्य, सह–सचिव हुँदै २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित भए। विद्यार्थी राजनीतिमा हासिल गरेको नेतृत्व क्षमताले स्ववियू निर्वाचनतर्फ पनि प्रभाव पारेको थियो। त्रिचन्द्र क्याम्पसको स्ववियू चुनाव संयोजकका रुपमा उनले १६ वर्षपछि सम्पन्न भएको चुनाव सफल बनाउन निर्णायक भूमिका निर्वाह गरेको सहकर्मीहरूले स्मरण गरेका छन्।
विद्यार्थी राजनीतिबाट परिपक्व अनुभव बटुलेर उनले तरुण दलमार्फत मूलधारको राजनीतिमा सक्रियता बढाए। तर, ४०० सदस्यीय जम्बो समिति गठनका क्रममा आफू नपर्दा संगठनभित्र उनको क्षमताको कदर नभएको भन्दै कार्यकर्ताबीच चर्चा चलेको थियो।
गिरीलाई बाजुरा काठमाडौँ सम्पर्क समितिको नेतृत्व दिएपछि अब भने कांग्रेसभित्र यस निर्णयलाई ‘योग्यताको सम्मान’का रूपमा लिइएको छ। नेपाली कांग्रेस बाजुराका जिल्ला सभापति रामसिंह रावलले “सच्चा सिपाहीले उचित स्थान पाएको” भन्दै स्वागत गरेका छन्।
काठमाडौँमा रहेका बाजुराबासी कांग्रेस कार्यकर्तालाई एकताबद्ध गर्दै संगठन सुदृढ बनाउने जिम्मेवारीसहित गिरीको नयाँ भूमिका कांग्रेस सुदूरपश्चिम वृत्तमा उत्साहका साथ हेरिएको छ।
