धनगढी, १७ मंसिर / आर्थिक अभावका कारण चिसो मौसममा विद्यालय जान कठिनाइ भोगिरहेका विद्यार्थीहरुलाई न्यानो लुगाको व्यवस्था गरिदिँदै डिभाइन युथ क्लव नेपाल सुदूरपश्चिम प्रदेश र श्री माधव नेपाल समिति कैलालीले संयुक्त रूपमा सहयोग गरेका छन्।
धनगढी–१२ स्थित मुक्तिनाथ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको हो। डिभाइन युथ क्लव नेपाल सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जगदीश प्रसाद भट्टका अनुसार क्लवका सदस्यहरूले आफ्नो व्यक्तिगत खर्चबाट बचत गरेको रकम प्रयोग गरी सेवा भावना स्वरूप सहयोग उपलब्ध गराएको बताए।
श्री राधा माधव समिति कैलालीका दामोदर सापकोटाले पनि जाडोमा न्यानो लुगा नहुँदा कक्षामा नियमित रूपले सहभागी हुन नसक्ने विद्यार्थीको सहजताका लागि हामीले न्यायो वस्त्र वितरण गरेको बताए। आफुहरुले विगत ४ वर्ष देखि सामाजिक सेवामा काम गर्दै आएको बताए ।
हामीले सेवा कार्य मार्फत श्री हरिको भक्ति गरेको उनको भनाई रहेको थियो।
कार्यक्रममा धनगढी उपमहानगरपालिका–१२ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर महरा, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, छात्र–छात्रा, डिभाइन युथ क्लवका सदस्य तथा श्री राधा माधव समितिका प्रतिनिधिहरूको उपस्थिति थियो।
सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महराले विद्यालयको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि मुक्तिनाथ आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिने जानकारी दिए। उनले अभिभावक र शिक्षकलाई यसका लागि अग्रिम तयारी गर्न आग्रह समेत गरे।
यस्तो महत्वपूर्ण आवश्यकतामा विद्यालयलाई सहयोग पुर्याएको भन्दै विद्यालय परिवारले दुवै संस्थाप्रति आभार व्यक्त गरेको छ।
