धनगढी, १६ मंसिर / सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको युवा नीतिको मस्यौदामा सुझाव संकलन गर्न धनगढीमा ‘युवा सहभागिता संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रदेश युवा परिषद्को आयोजनामा र युएनएफपिएसहित विभिन्न साझेदार संस्थाको सहयोगमा गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गरेका थिए। कार्यक्रममा पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य महालक्ष्मी (डिना) उपाध्याय मुख्य अतिथिका रूपमा आउनुभएको थियो।संविधानसभा सदस्य योगेन्द्र चौधरी विशिष्ट अतिथि तथा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, युवा–बिषयक विज्ञ डा. दिपेश घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रदेश सरकारले तयार पारेको युवा नीतिको प्रारम्भिक ड्राफ्ट प्रस्तुत गरी सहभागी युवाबाट प्रत्यक्ष रूपमा सुझाव संकलन गरिएको थियो। युवाहरूले नीति निर्माणमा ढिलाइ भइरहेको भन्दै छिटो पारित र कार्यान्वयनमा जोड दिए।
युवा–सम्बन्धी अनुसन्धानकर्ता डा. दिपेश घिमिरेले युवाका प्रमुख समस्या, अवसरका क्षेत्र, नेतृत्व विकास, उद्यमशीलता, रोजगार, प्रविधिको पहुँच र सामाजिक सहभागिताबारे प्रस्तुती दिएका थिए।
कार्यक्रममा सहभागी भएका युवाहरूले नीति व्यवहारिक, समावेशी र कार्यान्वयनमा सहज हुने गरी परिमार्जन गर्नुपर्ने सुझाव दिए। आयोजनाकर्ताले संवादबाट उठेका सुझावहरू नीतिलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।