धनगढी,१३ मंसिर / हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत शनिबार धनगढीमा “वर्तमान हिन्दू समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास विषयक प्रबुद्ध नागरिक गोष्ठी गरिएको छ”। गोष्ठीमा विभिन्न क्षेत्रका प्रबुद्ध नागरिक, समाजसेवी, युवा, विद्यार्थी तथा धर्म–संस्कृतिमा रुचि राख्ने सहभागी गरी २०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको आयोजकले बताएका छन्।
विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष इन्जिनियर महेन्द्र पन्तका अनुसार कार्यक्रमले नेपालमा हिन्दू समाजले सामना गरिरहेका चुनौती, सांस्कृतिक पहिचान संरक्षण र स्वाभिमान जागरणका लागि सबै तहबाट संयुक्त प्रयास आवश्यक रहेको विषयलाई केन्द्रीय रुपमा उठाइएको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाली समाजमा बढ्दो सांस्कृतिक विचलन, परम्परागत मूल्य–मान्यतामा परेको असर तथा धार्मिक पहिचान संरक्षणका उपायबारे विचार व्यक्त गरेका थिए। उनीहरूका अनुसार हिन्दू समाजको सुदृढीकरणका लागि जनचेतना, संगठन विस्तार र सामाजिक जिम्मेवारीबोध अनिवार्य छ।
गोष्ठीमा सहभागीहरूले नेपालमा सांस्कृतिक तथा धार्मिक पहिचान संवर्द्धनका लागि निरन्तर अभ्यास, युवा सहभागिता र सकारात्मक अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।