धनगढी , ११ मंसिर / कैलाली बहुमुखी क्याम्पसमा भएको प्राज्ञिक बहसमा विश्वविद्यालयहरूको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावित मार्गहरूबारे गहिरो छलफल भएको छ। सहभागी वक्ताहरुले ज्ञानको प्रवाह भन्दा पनि सिप, क्षमता र व्यवहारिक दक्षता विकासमा जोड दिनुपर्नेमा एकमत जनाउँदै कक्षाकोठाहरूलाई कार्यशालामुखी बनाउनु आजको आवश्यकता भएको स्पष्ट पारे।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राध्यापक डा. तिर्थ खनियाले नेपालमा विश्वविद्यालयको भूमिका र महत्व अझै गहिरोसँग बुझाउन नसकिएको टिप्पणी गरे। उनका अनुसार, “विश्वविद्यालय ज्ञान सिर्जनाकै लागि बनेका संस्था हुन्, त्यसैले यसको पहिचान समस्याको समाधानकर्ता बन्नु पर्छ।” उनले सरकारसँग गुनासो गर्दै भने, “विश्वविद्यालय अनुसन्धान र समाधानका प्रयोगशाला हुन्, तर नेपालमा सरकार आफैँले विश्वविद्यालयलाई प्रयोग गर्ने संस्कारै बस्न सकेको छैन।”
उनले नेपालमा उच्च शिक्षाको समग्र रुपरेखा अस्पष्ट रहेको उल्लेख गर्दै प्रश्न पनि उठाए—“कुनै विश्वविद्यालयमा लाखौँ विद्यार्थी, कुनैमा न्यूनतम विद्यार्थी पनि नहुने अवस्था के मोडेलले व्याख्या गर्छ?” उनका अनुसार नेपालका धेरै विश्वविद्यालय राजनीतिक अभिप्रायका आधारमा स्थापना भएका कारण उनीहरूको सञ्चालन, मार्गनिर्देशन र लक्ष्य स्पष्ट छैन। विश्वव्यापी प्रतिस्पर्धामा लैजान दीर्घकालीन नीति, स्पष्ट मार्गनिर्देशन र प्रभावकारी संयन्त्र तत्कालै आवश्यक रहेको उनको जोड थियो।
त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तले उच्च शिक्षामा अनुसन्धानको न्यूनता र आर्थिक चुनौतीलाई प्रमुख समस्या बताए। “फरक सोच र नवीन अनुसन्धानलाई उच्च शिक्षामा समावेश नगरेसम्म विश्वस्तर पुग्न सकिँदैन,” उनले भने। उनका अनुसार विश्वविद्यालयले समाज, उद्योग तथा उत्पादनसँग प्रत्यक्ष सम्बन्ध कायम गर्न सके मात्रै शिक्षाको प्रभावकारिता देखापर्छ। संरचना, प्रयोगशाला र प्राध्यापकहरूको क्षमता विकास गुणस्तर सुधारको आधार भएको उनको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालयका पाठ्यक्रम, तिनको अद्यावधिक र उपलब्धताका विषयमा प्रश्न उठाए। उपकुलपति पन्तले विद्यार्थीका समस्या क्रमिक रूपमा सम्बोधन भइरहेकाे बताए।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोक बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा विभिन्न प्राज्ञिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो। यहीँ कार्यक्रमको अवसरमा केएमसीबाट प्रकाशित हुने अनुसन्धानमूलक ‘केएमसी जर्नल’ को सातौँ संस्करणको दोस्रो श्रृङ्खलाको विमोचन समेत गरिएको छ ।