धनगढी, ३० कार्तिक / धनगढी उपमहानगरपालिकाको समन्वयमा तथा फेल्म नेपाल र परिलक्षित संस्थाको आर्थिक सहयोगमा धनगढी–११ स्थित श्री दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ विद्यालय प्रवेशद्वार (गेट)को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि फेल्म नेपालका राष्ट्रिय निर्देशक डा.लोट्टा ग्यामेलिन रहनुभएको थियो भने विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष रूपबहादुर कुँवर सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.ग्यामेलिनले सबै नागरिकले समान अधिकार तथा समान शिक्षाको पहुँच पाउनुपर्नेमा जोड दिनुभयो। अपाङ्गता भएका बालबालिकाले पनि अन्य विद्यार्थीसरह गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै उहाँले फेल्म नेपालले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडाध्यक्ष कुँवरले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै कार्यक्रम प्रभावकारी रहेको धारणा राख्नुभयो।
त्यसैगरी विद्यालयका प्राध्यापक सीताराम चौधरीले सन २०२२ देखि परिलक्षित संस्था ले शिक्षा, भौतिक संरचना तथा पोषण क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र यसले विद्यालयको समग्र विकासमा महत्वपूर्ण टेवा पुगेको जानकारी दिनुभयो।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश पनेरु, जो स्वयं पनि बहिरा नागरिक हुनुहुन्छ, बहिरा बालबालिकाले शिक्षा क्षेत्रमा भोग्नु पर्ने जटिलता उल्लेख गर्दै सांकेतिक भाषा सिक्न आवश्यक स्रोत तथा तालिम प्राप्त शिक्षकको अभावलाई परिलक्षित संस्थाले कम गर्न मद्दत गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय सरकार तथा संघ–संस्थाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
औपचारिक कार्यक्रमको बीचमा सांकेतिक भाषाका नाटक समेत मञ्चन गरिउएका विद्यालयका शिक्षक हिमाल धानुकले जानकारी दिए । विद्यालयले सहयोगी संस्थालाई सम्मानपत्र समेत प्रदान गरेको शिक्षक धानुकले जानकारी दिए ।