कैलाली , ३० कार्तिक / बझाङ जिल्लामा रहेको ग्रामीण पर्यटनको ठूलो सम्भावना बोकेको साईपाल क्षेत्रमा होमस्टे व्यवसायलाई अधिक व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित तीनदिने ‘होमस्टे व्यवस्थापन तालिम’ सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी), साईपाल गाउँपालिका र साहरा नेपाल बझाङको सहकार्यमा कात्तिक २७ गतेदेखि तालिम सञ्चालन गरिएको हो।
साईपाल गाउँपालिका–३, काँडामा सम्पन्न तालिमले स्थानीयमा पर्यटनप्रति नयाँ उत्साह र आत्मविश्वास जगाएको आयोजक संस्थाहरूको भनाइ छ। तालिमले होमस्टे सञ्चालनलाई व्यवस्थित बनाउँदै गाउँमा दिगो पर्यटन विकासमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।
‘भविष्यको प्रमुख ग्रामीण गन्तव्य’– गाउँपालिका अध्यक्ष
तालिम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले साईपाललाई प्रकृति, संस्कृति र आतिथ्यका आधारमा ‘भविष्यको प्रमुख ग्रामीण गन्तव्य’ बनाउन होमस्टेहरूलाई दिगो पर्यटनको मोडेलतर्फ लैजान आवश्यक छ भने। उपाध्यक्ष डोल्मा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी तथा वडा अध्यक्षहरूले तालिमले स्थानीयलाई आत्मनिर्भर र दिगो पर्यटनतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
२१ जनाको सहभागिता, महिलाको उत्साहजनक उपस्थिति
साईपाल गाउँपालिकाका वडा नं. १ देखि ४ सम्मका ११ महिला र १० पुरुष गरी २१ जना तालिममा सहभागी भए। महिलाको उल्लेख्य सहभागिताले साईपालमा ग्रामीण पर्यटनको सम्भावना अझ बढेको प्रशिक्षकहरूको भनाइ छ।
होमस्टे व्यवस्थापनदेखि वार्षिक योजना निर्माणसम्म प्रशिक्षण
होमस्टे महासंघ नेपालका कोषाध्यक्ष तथा प्रशिक्षक सुरज बास्तोलाले नेपालमा होमस्टेको अवधारणा, दर्ता मापदण्ड, सञ्चालन कार्यविधि, आतिथ्य सत्कार, सु–शासन, बजार प्रवर्द्धन, दिगोपना तथा वार्षिक कार्ययोजना निर्माणसमेतका विषयमा प्रशिक्षण दिए।
‘होमस्टे सञ्चालन कार्यविधि २०६७’ अनुसार दर्ताका लागि स्थानीय तहको सिफारिस, संरचना विवरण, सरसफाइ–सुरक्षा मापदण्ड तथा सेवा सूचीकै आधारमा होमस्टे सञ्चालन गर्नुपर्ने जानकारी पनि सहभागीलाई दिइयो।
स्थानीय खानामा नै पर्यटनको स्वाद
सहभागीहरूले तालिमका दौरान कोदोको बिस्कुट, सिस्नोको सुप, च्याख्लाको खिर, मकै–फपर–कागुनो जस्ता परिकारमा पर्यटक किन आकर्षित हुन्छन् भन्ने जिज्ञासा राखेका थिए। व्यावहारिक सेसनपछि उनीहरूले आफ्ना स्थानीय परिकारमै ठूलो बजार सम्भावना रहेको अनुभूति गरेका छन्।
एक सहभागीले भनिन्, “पहिले त गाउँमा पर्यटक आउँदैन भन्ने सोच्थ्यौं, तर अब लाग्छ— यही स्थानीय खान–संस्कृति नै रोजगारीको स्रोत बन्न सक्छ।”
दिगो पर्यटनलाई साईपालको नयाँ पहिचान
तालिममा आर्थिक गतिविधि, संस्कृति र प्रकृतिबीचको सन्तुलन नै दिगो पर्यटनको मेरुदण्ड भएको जानकारी दिइयो। साईपाल भौगोलिक रूपमा टाढा भए पनि पर्यटनका लागि नजिक भएको र पर्यटक स्वागतका लागि गाउँपालिका तयार रहेको अध्यक्ष बोहराले बताए।
स्थानीयहरूले पनि तालिमका सिकाइलाई व्यवहारमा उतार्दै गाउँलाई दिगो पर्यटनको मोडेल बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपालभर करिब १२ हजार होमस्टे
नेपालमा हाल ७ हजार दर्ता र करिब ५ हजार दर्ता नभएका गरी करिब १२ हजार होमस्टे सञ्चालनमा छन्। प्रत्येक होमस्टेमा वार्षिक औसत २५०–३०० पर्यटक आउने भएकाले ग्रामीण पर्यटनको ठूलो बजार सम्भावना रहेको देखिन्छ।
साईपालमा सम्पन्न यो तालिमले त्यही सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने नयाँ ऊर्जा जगेडेको आयोजकहरूको भनाइ छ।