धनगढी, २४ कार्तिक / कञ्चनपुर, कैलाली र दार्चुलाबाट नौ जना फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार लागू औषध, जुवा तास र बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका नौ जना पक्राउ परेका हुन ।
जिल्ला अदालत कञ्चनपुरले लागू औषध मुद्दामा २ महिना ६ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका – १८ निम्बुखेडकाका सुरेन्द्र बहादुर बम, लागू औषध मुद्दामा ११ महिना कैद सजाय तोकिएका बेलडाडी गाउँपालिका – २ का २० वर्षीय सुमन साउँद, लागू औषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका – १० पहलमानपुरका २९ वर्षीय मीन बहादुर कुँवर, २९ वर्षीय महेश खड्का र २७ वर्षीय जगदीश चौधरी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै जिल्ला अदालत कैलालीको फैसला अनुसार बहुविवाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका कैलारी गाउँपालिका – ४ के गाउँ का ४६ वर्षीय मिलाल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उता जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाले कैद सजाय तथा जरिवाना ठहर गरेका ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लागू औषध मुद्दामा १२ दिन कैद सजाय तोकिएका नौगाड गाउँपालिका – १ ईयरकोटका २२ वर्षीय देव सिंह ठगुन्ना, लागू औषध मुद्दामा ३ महिना २८ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएका महाकाली नगरपालिका – ४ तल्लासैनका ५० वर्षीय मोहन सिंह विष्ट र जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र ३० हजार जरिवाना तोकिएका दुहु गाउँपालिका – २ का ३४ वर्षीय जनक वडाल रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।